जुम्लामा स्याउ टिप्न भ्याइनभ्याई, बगैँचामै व्यापारी पुग्ने क्रम बढ्यो
जुम्ला : जिल्लाका अधिकांश किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त देखिने गरेका छन्।
स्याउ टिप्न सुरु भएसँगै व्यापारी स्याउ बगैँचामै आएर खरिद गर्ने क्रम पनि बढेको छ । स्याउ खरिद गर्न नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगायत स्थानका व्यापारी जुम्ला आएका छन् । भदौको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानी गर्न स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै बगैँचा खालि गरिसकेका छन् । ढिलो टिपे स्याउ बिक्री नहुने समस्याले धमाधम बगैँचा खालि हुन थालेका हुन् ।
यस वर्ष जुम्लामा ६ हजार १ सय मेट्रिकटन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्र जुम्लाको छ। जिल्लाको स्याउ उत्पादनबारे प्राविधिकले तथ्याङ्क सङ्कलन गरिहेको कृषि ज्ञान केन्द्रका अर्थ्विज्ञ बालकराम देवकोटाले बताए। उनका अनुसार गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढेको अनुमान गरिएको छ। देवकोटाले स्याउको बजार वर्षेनी बढिरहेको बताए।
केही वर्षअघिसम्म स्याउ बिक्री गर्न खलङ्गा बजारमा लैजानुपर्ने बाध्यता थियो। यस वर्ष व्यापारी बगैँचामै पुगेर धमाधम स्याउ खरिद गरिरहेका छन्।