Logo
१० मंसिर २०८१, सोमबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपति ट्रम्पले कश्मीर मुद्दाबारे मोदी र इमरानसँग गरे टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतस्थित जम्मू-कश्मीर मुद्दाबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन् । उनीहरुबीच द्विपक्षीय र क्षेत्रीय मुद्दाबारे कुराकानी भएको हो । जवाफमा प्रधानमन्त्री मोदीले यो नितान्त भारतको आन्तरिक कुरा भएकोले यसबारे विश्व बहस हुनुपर्ने कुनै कारण नै नरहेको जवाफ फर्काइएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अफिसियल ट्वीटर ह्यान्डलबाट ट्रम्पसँग आधा घण्टा टेलिफोन वार्ता भएको जानकारी दिइएको छ । ट्वीटरमा लेखिएको छ, ‘३० मिनेटको कुराकानीमा द्विपक्षीय र क्षेत्रीय मामलाबारे छलफल भयो र सौहार्दतामा जोड दिइयो जुन दुवै नेताबीचको सम्बन्धको विशेषता हो ।’

भारतीय मिडियाका अनुसार मोदीले पाकिस्तानतर्फ संकेत गर्दै केही नेताहरुले अति उग्र बयान दिनु र भारतविरोधी हिंसालाई बढावा दिनु क्षेत्रीय शान्तिको लागि ठीक नरहेको बताएका थिए । उनले सीमापार आतंकवाद र हिंसाबाट मुक्त हुनु जरुरी रहेकोमा समेत जोड दिए । मोदीले सुरक्षित र लोकतान्त्रिक अफगानिस्तान निर्माणको लागि भारत प्रतिबद्ध रहेको जानकारी पनि ट्रम्पलाई गराएका थिए ।

ट्रम्पले परिस्थिति अप्ठ्यारो भए पनि सकारात्मक कुराकानी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् । ट्रम्पले लेखेका छन्, ‘मेरा दुवै साथीहरु मोदी र खानसँग व्यापार, रणनीतिक साझेदारी तथा भारत र पाकिस्तानबीच काश्मीरमा देखिएको तनाव कम गर्नेबारे कुरा भयो । परिस्थिति अप्ठ्यारो छ, तर कुराकानी राम्रो छ ।’

भारतले संविधानको धारा ३७९ खारेज गरेर जम्मू कश्मीरको विशेष दर्जाको खोस्ने र लद्दाखलाई अलग राज्य घोषणा गर्ने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पसँग गरिएको वार्तालाई अर्थपूर्ण मानिएको छ । किनभने जम्मू कश्मीर मुद्दा संयुक्त राष्ट्रसंघको राष्ट्रिय सुरक्षा परिषदमा पनि पुगिसकेको छ ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणमा ट्रम्पले कश्मीर मुद्दामा अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका थिए । तर, मोदीले त्यसलाई नकार्दै पाकिस्तानसँग मात्र वार्ता गर्ने बताएका थिए ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्