मन्त्री सोनलको आदेशमा कार्यक्रम बिथोलिएको आरोपमा वडाअध्यक्षसहित ७ पक्राउ
काठमाडौं : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आज उद्घाटन गर्न लागेको एक कार्यक्रम बिथोलिएको छ । उक्त कार्यक्रम बिथोलिएको आरोपमा बाराको परवानीपुर गाउँपालिका-५ का वडाअध्यक्ष रामेश्वर शाह कलबारसहित ७ जना पक्राउ परेका छन् ।
आफ्नो वडा (नौतन) मा निर्माण भएको धर्मशालाको उद्घाटन कार्यक्रममा आफूलाई प्रतिनिधित्व नगराएको भन्दै कार्यक्रम बिथोल्न खोजेका थिए । कार्यक्रम बिथोल्ने वडाअध्यक्ष कलबारसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए ।
तत्कालिन संघीय समाजवादी पार्टीबाट निर्वाचित वडाअध्यक्ष रामेश्वर कलबार, अनेरास्ववियु क्रान्तिकारीका नेता विवेक गुप्ता, हरिशंकर गुप्ता र रुपेश गुप्ता पक्राउ परेको उनले बताए ।
यता धर्मशाला निर्माणको क्रममा व्यापक अनियमितता गरेको भन्दै वडाअध्यक्ष कलबारको आरोप छ । मन्त्री सोनलको ठाडो आदेशमा विरोधमा उत्रनेलाई पक्राउ गराएको स्थानीयको आरोप छ ।