Logo
२२ कार्तिक २०८१, बिहीबार
(August 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्राफिक व्यवस्थापनमा कडाई : लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारबाहीमा

काठमाडौं : ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष ०७५-०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो ।

महाशाखाले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेनबाट अनुगमन गरी अनुशासनको कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारीसाधनको नम्बर टिपेर चालकको घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । ‘हतारोका कारण अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौं’, उनले भने ।

कारबाही परेकामध्ये ४० हजार ६१९ पुरुष र दुई हजार २०३ महिला रहेका छन् । ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई रु ५ सय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ट्राफिक प्रहरीले विस २०७१ असोज २६ देखि लेन अनुशासन कारवाही गर्दै आएको हो ।

महाशाखाले हालसम्म तीन लाख आठ हजार ५४७ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा लिएको प्रवक्ता पौडेलले बताए ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: Aug 3, 2019

प्रतिक्रिया दिनुहोस्