Logo
१२ मंसिर २०८१, बुधबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको देवानगञ्जमा मेहताले घाँटी रेटी गरे यादवको हत्या, छतले थिच्दा अर्को २ को मृत्यु

प्रदेश नम्बर १ स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका-२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ ।

भारत अररीया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले बताए ।

हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

एकको मृत्यु
यसैबीच सुनसरीको बर्जु गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटनामा आइतबार राति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका-२ का धीरेन यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले जानकारी दिए ।

बिआर ३८ एफ ८९३८ नम्बरको भारतीय मोटरसाइकल लिएर घुमफिर गर्न निस्केका यादवको सवारी साधन अनियन्त्रित भएर पुलमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते भएका यादवको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।

छतले थिच्दा दुईजनाको मृत्यु
त्यस्तै प्रदेश नम्बर १ कै जिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुईजनाको मृत्यु भएको छ ।

स्थानीय अर्जुन रिजालका अनुसार सोमबार बिहान ९ बजेतिर निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो ।

घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयत्न गरिरहेको छ । प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा पूरै छत खसेर किच्दा उनीहरुको मृत्यु भएको हो ।

उक्त स्थानमा निर्माण गर्न लागिएको यलम्बर पार्कमा निर्माणाधीन मन्दिरको छत २० दिनअघि नै ढलान गरिएको भए पनि राम्रोसँग नअडिएको पाइएको उनको भनाई छ ।

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्