मागअनुसार आपूर्ति हुन नसक्दा अण्डाको मूल्यमा वृद्धि
चितवन : कुखुराको अण्डाको मूल्यमा वृद्धि भएको छ । मूल्यमा केही सुधार आएको भनिएता पनि लागत मूल्य भने कृषकले अझै पनि उठाउन सकेका छैनन् ।
प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८० पुगेको छ भने सानो अण्डाको मूल्य रु ११५ बाट बढेर रु २३० पुगेको छ ।
कृषकको लागत मूल्य प्रतिगोटा रु १० पर्दछ । बढेको बिक्रीमूल्य समग्रमा प्रतिगोटा ८ रुपैयाँ ५० पैसा पर्ने नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले जनाएका छन् ।
५५ लाख जति उत्पादन हुने अण्डा हाल दैनिक ४० लाख हाराहारीमा मात्र उत्पादन हुने गर्दछ । यो सङ्ख्या क्रमशः घट्दै आएको कँडेलको भनाइ छ । अण्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन् । चर्को गर्मीका कारण पनि अण्डा उत्पादनमा कमी आएको उनको छ ।
पोख्रेलका अनुसार नेपालमा ७ हजार कृषकले कुखुरा पाल्ने गरेको तथ्याङ्क छ । जहाँ १ लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । लेयर्स कुखुरामा मात्र रु १ अर्बभन्दा बढी लगानी भएको पोखरेलको भनाइ छ ।
सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले अण्डाको मागअनुसार आपूर्ति हुन कठिन भएकाले क्रमशः मूल्यवृद्धि हुँदै जाने अनुमान गरिएको बताए । दानाको मूल्य र बैंकको ब्याज बढ्दै जाने र अण्डाको मूल्य घट्दै जाँदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेकोमा क्रमशः मूल्यवृद्धि हुन सकेमा टिक्नसक्ने उनले बताए ।
पछिल्लो समय कृषकले चल्ला राख्नसमेत छाडेका थिए । यसबाट अण्डा उत्पादनमा क्रमशः गिरावट हुँदै जाने अनुमान गरिएको छ । ३ वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६० पुगेको थियो । गत एक वर्षयता भने खर्च नधान्ने गरी मूल्यमा गिरावट आएको कृषकको भनाइ छ ।