सुन्दा नै नमिठो लाग्ने ‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न वरिष्ठ पत्रकार रिसालको माग
काठमाडौं : हाम्रो समाजले मात्र नभएर संसारले नै मृत्युलाई एक दुखद रुपमा लिने गर्दछ । तर वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरन’ (इच्छा मृत्यु) गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
वरिष्ठ पत्रकार रिसालले धेरै विद्धान छोराछोरीका ज्येष्ठ नागरिकले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानुनी व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका हुन् ।
सुन्दा नमिठो लागेपनि ज्येष्ठ नागरिकहरुले स्वेच्छिक मरन गर्न चाहेको देखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था गर्न गम्भिर भइदिन पनि उनको सरकारसँग विशेष अनुरोध छ ।
वरिष्ठ पत्रकार रिसालले विश्वका कतिपय मुलुकमा ज्येष्ठ नागरिकहरुले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानुनी व्यवस्था रहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
शुक्रबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकता सम्बन्धि विधेयकमाथि सरोकारवालाहरुसँगको छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ सासु-ससुरालाई स्याहार गर्ने बुहारी मध्येबाट उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए । त्यसले पनि ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि सामाजिक रुपमै जागरण ल्याउने उनको भनाई छ ।
बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमानै पालनपोषण गर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । उनले ज्येष्ठ नागरिकको पालनपोषणका लागि नैतिक शिक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।
अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गर्ने व्यवस्था गरेकोमा खुसी पनि व्यक्त गरे । विधेयकमा ज्येष्ठ नागरिकलाई पालनपोषण नगर्ने छोराछोरीलाई ३ लाख जरिवाना र ५ वर्षसम्म जेल सजाय दिने प्रावधान राखिएको छ ।