बोलेरो जीप दुर्घटना अपडेट : ५ जनाको मृत्यु, १० जना घाइते
काठमाडौं : धादिङको गल्छी गाउँपालिका- ६ बाँझगाउँमा शुक्रबार बोलेरो जीप दुर्घटना भएको छ जसमा कम्तीमा ५ जनाको ज्यान गएको छ ।
गल्छी गाउँपालिका-५ को सिरुवारीबाट बैरेनी गइरहेको बा १८ च ९४०८ नम्बरको तरकारी बोकेको जीप कच्ची सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । बोलेरो जीप माथिल्लो सडकबाट दुर्घटना भएर अर्को सडकमा बजारिएको हो ।
दुर्घटनामा गल्छी गाउँपालिका-६ का २५ वर्षीय नानु तामाङ, ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका- ४ का ३८ वर्षीय सेते मिजार र २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
दुर्घटनामा परेकी २१ वर्षीया समिक्षा अधिकारीको उपचारका लागि लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी चौकी बैरेनीले जानकारी दिएको छ । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेर काठमाडौँ लगिएको छ ।