Logo
२० कार्तिक २०८१, मंगलबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानमा ‘हिल’ लगाउनुपर्ने नियमविरुद्ध आवाज उठाइँदै

जापानमा कार्यालयमा औपचारिक पहिरनका रुपमा महिलाहरुले अनिवार्य ‘हिल’ लगाउनुपर्ने नियम हटाउने अभियान अन्र्तगत १९ हजार मानिसले लिखित पत्रमा हस्ताक्षर गरेका छन् ।

सो अभियान युमी इसिकावाले सुरु गरेकी हुन् जसलाई अन्त्येष्टि गृहमा उँचो हिल लगाउन निर्देशन दिइएको थियो । यसबारेमा उनले ट्वीटरमा गरेको गुनासो भाइरल भइ ३० हजारपटक शेयर भएको हो । यसअघि २०१५ मा पनि लन्डनमा एक रिसेप्सनमा बस्ने महिलालाई हिलयुक्त जुत्ता लगाउन नमानेको भन्दै पारिश्रमिक नदिइ घर पठाइएको खबर व्यापक चर्चामा आएको थियो ।

जापानमा जुत्तालाई ‘कुत्सु’ र पीडालाई ‘कुत्सुउ’ भनिन्छ । यस्तोमा यसलाई ‘मि–टु’ सँग जोडेर कु–टु अभियान सञ्चालन गरिएको हो । अभियानमा सहभागी महिलाहरुका अनुसार जुनसुकै कामका लागि आवदेन दिँदा पनि जापानमा हिललाई अनिवार्य पहिरनका रुपमा उल्लेख गर्ने गरिएको हुन्छ ।

यसरी औपचारिक पहिरनमा परिवर्तन ल्याउन यसअघि पनि विभिन्न अभियान सञ्चालन भइसकेका छन् । बेलायतमा पनि निकोला थोर्पले फाइनान्स कम्पनीमा हिल लगाउन भनिएपछि यस विरुद्ध अभियान सुरु गरेकी थिइन् । यसबारे मिडियामा पनि व्यापक चर्चा सुरु भएपछि विभिन्न कम्पनीहरुले महिलाहरुले ‘फ्ल्याट जुत्ता’ लगाउन पाउने घोषणा गरेका थिए ।

त्यस्तै २०१७ मा क्यानडाको एक प्रदेशमा पनि महिला कर्मचारीलाई अनिवार्य हिल लगाउनुपर्ने नियम रद्द गरिएको थियो । हिल लगाउनुले चिप्लिने, लड्ने लगायत शारीरिक क्षति पुग्ने जोखिम हुन्छ भने यसले खुट्टा, पैताला र ढाडमा समेत दिर्घकालीन समस्या गराउने गर्दछ । (बीबीसी )

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्