Logo
२० कार्तिक २०८१, मंगलबार
(June 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगर थप २ ब्रुमर ल्याउने तयारीमा

काठमाडौँ :  महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप २ बु्रमर (यान्त्रिक कुचो) ल्याउने भएको छ । गत फागुनको अन्तिम साता इटलीबाट ल्याइएको ५ यान्त्रिक कुचो अपुग भएपछि बढाउन लागिएको हो । चीनको छिन्दु नगरले कामपालाई अनुदानमा सो यान्त्रिक कुचो दिन लागेको हो ।

ढिलोमा आगामी हप्तामा काठमाडौँ आइपुग्ने ती यान्त्रिक कुचो युरो-४ मापदण्डको रहेको र तिनको लम्बाइ ८.६ मिटर र चौडाइ ३.५ मिटर छ । कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले १५.८ मेट्रिकटन तौल भएका ती यान्त्रिक कुचो उपत्यका आएपछि सञ्चालनको मार्ग निर्धारण गरिने जानकारी दिए । हाल महानगरले ५ यान्त्रिक कुचो उपत्यकाका मुख्य सडक सफा गर्नका लागि प्रयोग गर्दै आएको छ । ५ मध्ये ४ १६ टन क्षमताका तथा अर्को एउटा ६ टन क्षमताका छन् ।

ती यान्त्रिक कुचोले दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्छ । युरो मापदण्डका भनिएका यान्त्रिक कुचोको अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका ४ ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । पछिल्लो समय निर्माण तीव्ररुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।

कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उक्त यन्त्रले नियमित सफा गर्ने भनिए पनि वर्षात्को समय शुरु भएकाले नियमितरूपमा सफा गर्न भने सकेको छैन, उक्त यन्त्र दैनिक ८ घण्टा प्रयोग हुँदै आएको छ ।

कानूनीरूपमा ८ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । ती ५ यान्त्रिक कुचो रु १० करोड ८० लाखमा ल्याइएको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई यान्त्रिक कुचोले सडक सफा गर्दै आएको थियो ।

कामपासँग यसअघि रहेको एक यान्त्रिक कुचो काम गर्न नमिल्ने अवस्थामा रहेको कामपाले जनाएको छ । यी बु्रमर सञ्चालनका लागि हाल ५ सडक क्षेत्र तय गरिएको छ । कामपासँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि जनाइएको छ ।

प्रकाशित मिति: Jun 4, 2019

प्रतिक्रिया दिनुहोस्