Logo
२० कार्तिक २०८१, मंगलबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डुबेर ज्यान गुमाएका दुई विद्यार्थीका परिवारलाई ६-६लाखको क्षतिपूर्ति दिइने

सांकेतिक तस्बिर

खोटाङ :  खोलामा डुबेर ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका १९ वर्षीय एलिस बस्नेत र सोही ठाउँका विक्रम भट्टराईका परिवारलाई दिक्तेल प्राविधिक शिक्षालयले रु ६ -६ लाख दिने सहमति भएको छ ।

शैक्षिक भ्रमणका लागि शनिबार प्राविधिक शिक्षालयले साप्सु खोलामा लगेको बेला दहमा डुबेर ज्यान गुमाएका ती विद्यार्थीका परिवारलाई शिक्षालयले मृतक परिवारलाई रु ५- ५ लाख राहत तथा रु १- १ लाख किरिया खर्च दिने सहमति भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार साँझ भएको छलफलमा शिक्षालयका सञ्चालक र मृतकका आफन्तबीच क्षतिपूर्ति लिने/दिनेमा दुई पक्षीय सहमति भएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययले बताए । प्रतिमृतक परिवार रु ५० हजार तत्काल दिने र बाँकी रकम १५ दिनभित्र दिने सहमति भएको छ । मृतक परिवारले आइतबार दिक्तेलमा नारा/जुलुस प्रदर्शन गरेपछि क्षतिपूर्ति दिने सहमति भएको हो।

वार्ताका माध्यमबाट सहमति जुटेपछि आज मृतक दुवै जनाको शव परीक्षण गर्ने तयारी गरिएको प्रशासनले जनाएको छ । शुरुमा डुबेका भट्टराईलाई जोगाउने क्रममा बस्नेतले पनि ज्यान गुमाएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार खड्काले बताए ।

एलिसका मामा विनोद बस्नेतका अनुसार छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले समेत मृतक विद्यार्थीको स्मृतिमा कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ । वडा कार्यालयका तर्फबाट पनि मृतक विद्यार्थीको नाममा सामाजिक काम गर्ने योजना बनाएको वडाध्यक्ष डिल्ली राईले बताए ।

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्