Logo
१४ मंसिर २०८१, शुक्रबार
(September 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढ्यो ट्राफिक दण्ड जरिवाना: कुन-कुन कसुरमा कति सजाय !

trafic3

काठमाडौं, २९ भदौ । सरकारले दण्ड जरिवानाको रकम बढाएरै सवारी नियम उल्लंघन गर्न हातोत्साहित गर्ने नीति लिएको छ । अहिलेसम्म यातायात व्यवस्था ऐनमा सवारी नियम पालना नगर्नेलाई ५ हजार रुपैयाँसम्म मात्रै जरिवाना लिने व्यवस्था छ । तर, अब कसुरअनुसार सजाय रकम बढाउनेदेखि लाइसेन्स निलम्बन र खारेज गर्नेसम्मको प्रस्ताव अघि सारिएको छ ।

थोरै जरिवाना हुँदा नियम उल्लंघन गरेर सवारी चलाउने र ट्राफिक प्रहरीले कारबाही गरे जरिवाना गर्ने प्रचलन बढेको छ । यसलाई मध्यनजर गर्दै सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गरी जरिवाना रकम १० हजारदेखि ३ लाख रुपैयाँसम्म पुर्‍याउने र कैद सजाय गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

के गरे १० हजार जरिवाना ?

विद्यमान नियम अनुसार लाइसेन्स नलिई सवारी चलाएको भेटिएमा हाल २ हजार रुपैयाँ जरिवाना लाग्छ । तर, प्रस्तावित नियममा पाँच गुणा बढाइएको छ र अब यस्तो कसुर गरेमा १० हजार जरिवाना प्रस्ताव गरिएको छ । एउटा प्रयोजनमा ल्याइएको सवारीलाई अर्को प्रयोजनमा लगाउनेले पनि १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । निजी सवारीले भाडाका यात्रु बोकेमा र तोकिएको क्षमताभन्दा बढी मालसामान ढुवानी गरेमा पनि १० हजार रुपैयाँ जरिवाना लगाइनेछ । अवस्था हेरेर यात्रुको हकमा नियम यो लागू हुने छ ।

१५ हजार जरिवाना

प्रस्तावित संशोधनअनुसार अब दर्ता नगरी सवारी चलाएको भेटिएमा चालकलाई १५ हजार रुपैयाँ जरिवाना हुनेछ । सवारीलाई पनि सरकारले जफत गर्नेछ । यस्तै विदेशमा दर्ता भएको सवारी अनुमतिविना नेपालमा सञ्चालन गरेको पाइएमा पनि यो सजाय हुनेछ ।यतिमात्रै होइन स्वीकृति नलिई सवारीहरुले सिट थपेमा वा सवारीको स्वरुप, इन्जिन तथा च्यासिसमा परिवर्तन गरेमा पनि यति रकम बराबरको जरिवाना लाग्नेछ । खासगरी पछिल्लो समय युवा पुस्तामा मोटरसाइकललाई स्टाइलिस बनाउने नाममा स्वरुप परिवर्तन गर्ने चलन पनि देखिएको छ ।

१५ हजार रुपैयाँ जरिवाना लाग्ने अर्को बिगो हो, इजाजत नलिइ यातायात सेवा सञ्चालन गर्नु । अनुमति नलिइ यातायात सेवा चलाउनेलाई विभागले १५ हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरेको छ । यसैगरी तोकिएकोभन्दा बढी भाडा लिएमा तथा क्षमताभन्दा बढी यात्रु बोकेमा पनि यो सजाय गर्ने प्रस्ताव गरिएको छ । सीटबाहेक छत, ढोका वा सवारीका कुनैपनि भागमा नियम विपरित यात्रु राखेमा समेत यही कारवाही हुनेछ । आवागमनमा अवरोध पुग्ने गरी सवारी पार्किङ गर्नेलाई पनि १५ हजार रुपैयाँ तिर्नुपर्ने हुनसक्छ । अनुमति नलिइ सवारी प्रशिक्षण केन्द्र, कारखाना र वर्कसप चलाएमा भने २५ हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरिएको छ ।

५० हजार पनि जरिवाना

प्रस्तावित संशोधन हुबहु पास भएमा सडक वा बाटो अवरुद्ध गर्नु निकै महंगो पर्नेछ । किनकी यसमा ५० हजार जरिवाना प्रस्ताव गरिएको छ । सीटबाहेक छत ढोका वा अन्य भागमा राखिएका बेला दुर्घटना भइ यात्रुको मृत्यु भएमा चालकलाई एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।

र, कैद सजाय

सवारी तथा यातायात व्यवस्था ऐनको संशोधन प्रस्तावमा घरपालुवा पशुवस्तुका कारण सवारी दुर्घटना भएमा छाडा छाड्ने पशुपंक्षी मालिकलाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था राख्न लागिएको छ । प्रतिस्पर्धात्मक तवरले सवारी सञ्चालन नगरी चक्रिय प्रणालीअनुसार सवारी चलाएमा ५ वर्ष कैद, २ लाख जरिवानासहित रुट इजाजतपत्र रद्ध गर्न सक्ने नयाँ व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

यसैगरी सवारीमार्ग परिवर्तन गरी यात्रु बन्धक बनाएमा २ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजायको प्रस्ताव गरिएको छ । चालक अनुमतिपत्र बिना सवारी चलाएर दुर्घटना गरी कसैको अंगभंग गराएमा पनि जेल सजायसहित ५० हजार रुपैयाँ जरिवाना गर्ने मस्यौदामा उल्लेख छ । नक्कली नम्बर प्लेट राखेर सवारी साधन चलाउनेहरुलाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तथा बदनियतका साथ दुर्घटना गराएर कसैको अंगभंग भएमा ८ वर्ष कैद र तीन लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ । #अनलाइनखबरमा समाचार छ ।

प्रकाशित मिति: Sep 14, 2016

प्रतिक्रिया दिनुहोस्