Logo
१७ कार्तिक २०८१, शनिबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सगरमाथाको शिखरमा पुग्यो उचाई नाप्न गएको नेपाली टोली

काठमाडौं : सगरमाथाको उचाई नाप्नका लागि खटिएको नापी विभागको टोली आज (बुधबार) बिहान शिखरमा पुगेको छ । विभागका उपसचिव खिमलाल गौतम नेतृत्वको टोली बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथा शिखरमा पुगेको हो ।

टोलीले सगरमाथाको शिखरमा उचाइ नाप्ने यन्त्र जीएनएनएस (ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम सर्भे) जीपीएस राखेको छ ।ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभरको माध्यमबाट यी मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरु संकलन गर्नेछ । अब जीपीएसमा सेट भएका तथ्यांकका आधारमा संसारका दर्जनौं वैज्ञानिकले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरी उचाई टुंगो लगाएर पुष्टि गर्नेछन् । त्यसका लागि कम्तीमा अझै ६ महिना लाग्ने बताइएको छ ।

विभागका उपसचिव खिमलाल गौतम नेतृत्वको टोलीमा नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिँह भण्डारी र अमिन युवराज धिताल लगायत छन्। टोलीका दुई सदस्य सुरजसिंह भण्डारी र युवराज धितालले भने आधारशिविरमा बसेर काम गरिरहेका छन्। टोली शिखरबाट फर्केर साउथकोल आइसकेको छ । सो टोली भोलिसम्म आधार शिविर आईपुग्ने आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोसन प्रालिले जनाएको छ ।

सन् २००५ मा चीनले गरेको सर्वेक्षणमा सगरमाथाको उचाइ समुन्द्री सतहदेखि ८ हजार ८ सय ४४ मिटर मात्र रहेको बताएपछि नेपाललाई सगरमाथाको उचाइ नापेर प्रमाणित गर्न दबाब बढेको हो । यस पटक नेपाल पहिलो पटक सगरमाथाको उचाइ नापेको हो ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्