गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १५ देखि
कास्की : प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वानका लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६/७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराएका छन् ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रहरीलाई मोटरसाइकल खरीदका लागि रु ९२ लाख छुट्याइएको छ । सरकारले छुट्टै अफ्सेट प्रेस सञ्चालनका लागि विनियोजित रु एक करोडमध्येबाट सो रकम रकमान्तर गरी मोटरसाइकल खरीदका लागि दिने निर्णय भएको मन्त्री बस्नेतले बताए ।