अवैध छाला तस्करीमा ५ जना पक्राउ
भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नं ६ सूर्यविनायक चोकमा जंगली जनावरको छालासहित ५ जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी घर भई हाल ललितपुरको चापागाँउ बस्ने ४० वर्षीय आनन्द तामाङ, ओखलढुङ्गा घर भई हाल बौद्ध बस्ने २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका घर भई हाल काठमाडौं बस्ने ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोर घर भएका ३५ वर्षीय रत्नबहादुर माझी र सोही स्थानका ३४ वर्षीय बिष्णुबहादुर माझी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुलाई अनुसन्धान तथा कारबाहीको लागि बिहीबार डिभिजन वन कार्यालय भक्तपुर बुझाइएको प्रहरीले जानकारी दिएको छ । शंकास्पद रुपमा हिँडडुल गरिरहेका उनीहरूलाई चेकजाँच गर्दा बेचबिखन गर्ने उद्देश्यले चितुवाको छालाजस्तो देखिने जंगली जनावरको छाला २ थान र भालुको पित्तजस्तो देखिने पदार्थ अन्दाजी ७५ ग्रामसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।