हावाहुरीले क्षतिग्रस्त बनाएका घर निर्माणका लागि सरकारले सेनालाई दियो ८५ करोड
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त बनाउका घर निर्माणका लागि सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको बताएका छनर ।
वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
यसअघि सरकारले बारा र पर्सामा हावाहुरीबाट क्षतिग्रस्त घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सरकारले दिएको रकम र घरधुरी संख्या हिसाब गर्दा एउटा घरवापत सेनाले ५ लाख ८२ हजार ८ सय ४७ रुपैयाँ पाएको हो । बारा र पर्सामा गएको चैत १७ गतेको साँझ हावाहुरीले २८ जनाको मृत्यु भएको थियो ।