भोलिबाट बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट चल्ने
हेटौंडा : बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट सञ्चालन हुने भएको छ ।
सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि बागमती नदीमा मोटरबोट सञ्चालन हुन लागेको हो ।
भोलि नयाँ वर्षको दिनबाट रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन हुनेछ । ११ सिट क्षमताको मोटरबोट सञ्चालन हुने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।
उनका अनुसार हाल चितवनको नारायणी नदीमा सञ्चालित ११ सिट रहेको मोटरबोटलाई नै बागमतीमा लगेर सञ्चालन गरिने छ । पछि केन्द्र तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नै बोट सञ्चालन गरिने योजना छ ।
मोटरबोटको सञ्चालनपछि बागमती गाउँपालिका तथा मकवानपुरकै पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।