Logo
११ माघ २०८१, शुक्रबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता विधेयकको बखेडा झिकेर यसरी जङ्गिए सांसद अमरेशकुमार

काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नागकिरता विधेयक समयमा पारित नगरेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।बुधबार राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले विधेयकलाई अघि बढाउन नदिन समितिकी सभापति शशी श्रेष्ठ नै लागेको आरोप समेत लगाए ।

गत चैत १९ गते गृह मन्त्रालयले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागकिता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । नागरिकता सम्बन्धी विधेयक संसदीय समितिमा छलफल भइरहेका बेला कुन अवस्थामा त्यस्तो परिपत्र जारी गरिएको हो त्यसको कानुनी र संवैधानिक स्पष्टताका लागि समितिले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई बैठकमा बोलाएको थियो ।

बैठकमा अधिकांश सांसदले गृहले गरेको सो परिपत्र संसदीय सर्वोच्चता विरुद्ध भएको बताए । बैठकको अन्त्यतिर आइपुगेका नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले समितिकी सभापति शशी श्रेष्ठसँग बोल्ने समय मागे । उनले सुरुमै समितिको सभापति श्रेष्ठ रहेसम्म नागरिकता विधेयक पास नहुने भन्दै सभापतिले नै विधेयकको विरुद्धमा रहेको आरोप लगाए । सभापतिकै अगाडि यस्तो आरोप लगाइरहेका बेला अरु सांसदहरुले नियमापक्ति गरेका थिए ।

राज्यव्यवस्था समितिको बैठक जनताको पिर मर्काका बारेमा केन्द्रीत नभएको र खाली नागरिकताको विषय उठाएको भन्दै उनले भने, ‘सकारलाई धन्यवाद दिन चाहन्छु, ढिलै भएपनि जनताको पिरमर्कालाई बुझ्यो, समितिले बुझेन, नागरिकता विधेयकलाई राजनीतिको खेलो बनाएर दुईवटा सदन चल्दा पनि समितिले अड्काएर राख्यो, यो सभापतिको कार्यकालभरी विधेयक पास हुँदैन ।’ सांसद सिंहले यसो भनेपनि सभापतिको नियत खराब भनेर बैठकमा भन्न पाइन्छ ? भन्दै केही सांसदले नियमापक्ति जनाएका थिए । उनले दुई अधिवेशन सम्म नागकिरता विधेयक किन अड्कियो भन्दै प्रश्न गरे ।

उनको यो प्रश्नको जवाफ पनि अन्य सांसदहरुले नै दिए । उनीहरु मध्ये केहीले सांसद सिंह नियमित बैठकमा नआएको त कसैले ढिला आउने गरेको जवाफ फर्काए । फेरि सांसद सिंहले नागरिकता विधेयकको विवादित विषयमा सहमति जुटाउन बनाएको समितिले १५ दिनमा किन काम नगरेको भन्दै प्रश्न गरे । समितिले सभापतिले विषयवस्तुमा केन्द्रीत हुन र संसदीय मूल्य मान्यतामा रहेर बोल्न आग्रह गरिन् ।

सिंहले संसदीय मर्यादामा रहेको बताउँदै जनताको छोरा छोराछोरीले नागरिकता नपाएर समस्यामा परेको बताउदै भने, ‘नागकिताको विषयलाई राष्ट्रियतासँग जोड्ने, जनताको पिरमर्का केहीलाई पनि नहेर्ने, संसद चल्नुभन्दा ४ दिन पहिला कर्मचारी समायोजन विधेयक ल्याउदा केही नहुने, समितिको म्यान्डेट ऐनको बारेमा मात्रै छ कि सरकारको काम कारवाही र जनताको पिर मर्काको बारेमा पनि छ ? यो समितिको नाउ के हो ? राज्यव्यवस्था तथा सुशासन समिति । यो समितिमा मैले अहिलेसम्म जनताको पिरमर्काका बारेमा छलफल भएको पाएको छैन ।’

समितिले समयमै यो विधेयक पास गरेको भए यस्तो समस्या नआउने उनको भनाई थियो । उलने बोलिसकेपछि सभापति श्रेष्ठले समितिको बैठकमा जनसरोकारका कुरा पनि उठाएको तर सांसद सिंह बैठकमा ढिला आइपुगेको बताइन् । बारामा गएको आँधीपीडितलाई पुर्नवासको व्यवस्था मिलाउन प्रधानमन्त्रीको कार्यालय तथा गृहमन्त्रालयलाई पनि निर्देशन दिइसकेको जानकारी गराएकी थिइन् । उनले भनिन्, ‘यो कुरा मैले अघि नै भनिसकेको हुँ, सायद आज पनि माननीय ढिला आउनुभएको कारणले सुन्नुभएन जस्तो लाग्यो । हामीले यो गरिसकेका छौँ माननीय ज्यू ।’

गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वशंजका आधारमा नागरिकता सबै जिल्लामा गरेको परिपत्र यथावस्थामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ भने आगामी वैशाख ३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्