देउवा-सिटौला एउटै मञ्चमा : पार्टी कलह र भागबण्डाबारे सार्वजनिक रुपमै जवाफ माग्ने
काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला आज एउटै मञ्चमा देखिँदै छन् । पार्टीको कार्यसम्पादन समिति गठनको विषयमा आफूलाई सभापति देउवाले ‘अपमान’ गरेको भन्दै केही दिन यता सिटौला रुष्ट छन् ।
यहीबीचमा आज जिल्ला कार्यसमिति काभ्रेले भकुन्डेबेसीमा आयोजना गरेको कार्यक्रममा सभापति देउवा र सिटौलाले एउटै मञ्चमा सहभागि हुने भएका हुन् ।
आज दिउँसो १ बजे हुने कार्यक्रममा देउवा र सिटौलासँगै केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताहरु पनि सहभागि हुने कार्यक्रम छ । सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको बैठकमा सिटौलाले आफूमाथि अपमान भएको भन्दै बहिस्कार गरेका थिए ।
सभापति देउवाले २९ सदस्यीय कार्यसम्पादन समितिमा वरिष्ठ नेता पौडेल पक्षलाई ४० प्रतिशत दिन तयार भएपछि सिटौलालाई कसले समेट्ने भन्ने विवाद उत्पन्न भएको थियो । पौडेलले आफूलाई ४० प्रतिशत दिँदा सिटौलालाई ६० प्रतिशत हिस्सा लिने पक्षले समेट्नुपर्ने बताएका थिए ।
देउवा पक्षले लामो समयदेखि सिटौला आफ्नो पक्षमा नरहेकाले पौडेलले नै समेट्नु पर्ने तर्क गरेका थिए । दुवै नेताको कुरा सुनेपछि सिटौला केही नबोली बैठकबाट रिसाउँदै बाहिरएका थिए ।नेता सिटौलाले पार्टीभित्रको कलह, आफूमाथि गरिएको ‘अपमान’ र सत्ता पक्षबाट काँग्रेसले भागबण्डा खोजेको भन्ने आरोपबारे सभापति देउवासँग सार्वजनिक रुपमै जवाफ माग्ने सिटौला स्रोतले जानकारी दिएको छ ।