Logo
२ माघ २०८१, बुधबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षा अगावै प्रदेश सरकारले हुरी प्रभावितहरुका प्रि-फ्याब घर बनाइदिने

जनकपुरधाम : प्रदेश २ सरकारले बाराका हुरी प्रभावितहरुका लागि वर्षा अगावै प्रि-फ्याब घर बनाइदिने भएको छ । राहत तथा सद्दार व्यवस्थापन उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले पीडितहरुको आवासबारे निर्णय गरेको हो ।

प्रदेश सरकारले बनाइदिने भनेको प्रिफ्याब घर कस्तो हुन्छ भन्ने सार्वजनिक भएको छैन । तर, भूकम्प प्रभावितहरुले पनि प्रिफ्याब घर बनाएका थिए, जुन भुइँतले हुन्छ ।

प्रदेशका आन्तरिक मामिलामन्त्री अध्यक्ष रहेको उच्चस्तरीय समितिले हावाहुरी प्रभावित बालबालिकाहरुका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

साथै सामाजिक विकास मन्त्रालयको वार्षिक कार्यक्रमबाट मिलान गर्ने गरी करिव १५०० बालबालिकालाई ड्रेस, शैक्षिक सामाग्री र खेल समाग्री उपलब्ध गराइनेछ ।

नियमित स्वास्थ्यकर्मी परिचालन गर्ने, विद्यालय तथा स्वास्थ्य केन्द्रको पुनर्निर्माण क्रमशः गर्दै जाने पनि निर्णय भएको छ । बैठकले प्रभावित जिल्लामा कार्यरत सम्पूर्ण कर्मचारीलाई अनिवार्य कार्यालयमा उपस्थित हुन सर्कुलर गर्ने निर्णय पनि गरेको छ ।

तत्कालका लागि त्रिपाल, टेन्ट लगायतको अस्थायी सेल्टरहरु बनाइने मुख्य न्यायाधिवक्ता एवं समितिका सदस्य दिपेन्द्र झाले जानकारी दिए ।

दीर्घकालीन पुनर्स्थापनाका लागि भने पूर्ण रुपमा घर क्षति भएका पीडितहरुलाई एकनासको प्रि-फ्याब द्दर बर्षा सुरु हुनु अगाडि (चार महिनाभित्र) तयार पार्ने निर्णय गरिएको उनले बताए ।

बैठकले राहत विचरणलाई व्यवस्थित बनाउन सहायक कक्ष स्थापना गर्ने निर्णय गरेको छ । सहायता कक्षमा आर्थिक मामिला तथा योजना, सामाजिक विकास राज्यमन्त्रीका साथै प्रमुख विल्ला अधिकारी, सुरक्षा प्रमुख र स्थानीय जनप्रतिनिधि नै बस्नेछन् ।

तोकिएका अधिकारीहरु सहायता कक्षमा नियमित रुपमा अनिर्वाय उपस्थित हुनेछन् र उनीहरुले राहत संकलन वितरणको रेकर्ड राख्नुका साथै सहजिकरण गर्नेछन् । साथै हुरीबाट भएको क्षतिको विवरण संकलन पनि यही टोलीले गर्नेछ ।

हालसम्म आएको राहतको प्रतिबद्धता : 

काँग्रेस संघीय सांसद– २ दिनको तलव

नेकपाका संघीय सांसद– १ दिनको तलव

राजपा नेपाल– ५ लाख

प्रदेश ३ सरकार– १ करोड

प्रदेश २ सरकार– मृतकका परिवारलाई ३ लाख

शेरबहादुर देउवा– २५ लाख

डा. बाबुराम भटट्राई– १५ दिनको तलव

विमलेन्द्र निधीसहित काँग्रेस प्रदेश २ का सांसद–१० लाख

एकनाथ ढकाल–५० लाख

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा– सोमबारमात्रै २ लाख बढि वितरण ।

पुष्पकमल दाहाल प्रचण्ड – ५ लाख

सामाग्री पुग्ने क्रम जारी : 

आइतबार साँझको हुरी बतासले क्षति पुर्याएका स्थानमा राहत सामाग्री पुग्ने क्रम जारी छ । सरकार, विभिन्न संघ, संस्थाले पाल, चाउचाउ, विस्कुट चिउरा खानेपानी जस्ता सामाग्रीहरु वितरण गरिरहेका छन् । तर, यस्तो राहत सामग्रीले पीडितहरुलाई तत्काल केही राहत भएपनि दीर्घकालिन समस्याको समाधान हुने देखिदैन ।

गृहमन्त्रालयलाई निर्देशन : 

केन्द्र सरकारले बारा र पर्साका प्राकृतिक विपद् प्रभावितहरुको उद्धार राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

घटनाको भोलिपल्ट सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुखद परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अंग, स्थानीय तह, नीजी क्षेत्र, सामाजिक तथा गैरसरकारी संस्थाहरुलाई समन्वयात्मक रुपमा परिचालन गरि विपत प्रभावितहरुको उद्धार, राहत, उपचार एवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने भएको छ । त्यसैगरी घाइतेहरुको उपचारमा कुनै कमि कमजोरी हुन नदिने, घाईते भई अपाङ्ग तथा अशक्त हुनेहरु तथा तथा मृतकका परिवारका सदस्यहरुलाई सरकारले यथोचित व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधि उपकरण सहितको थप स्वास्थ्यकर्मीहरुको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विपत प्रभावित क्षेत्रमा विद्युत् , खानेपानी , सञ्चार लगायतका अत्यावश्यक सेवाहरु सुचारु गराउन र थप क्षति हुन नदिन सम्बन्धित क्षेत्रहरुले पूर्ण सर्तकता अपनाउने साथै त्यसका लागि आवश्यक कदम चाल्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए ।

 

 

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्