Logo
५ मंसिर २०८१, बुधबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हावाहुरीका कारण प्राधिकरणको १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने

काठमाडौँ : आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ ।

संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति नियमित रहेको छ । हुरीबतासका कारण परवानीपुर-वीरगञ्ज ६६ केभी डबल सर्किट प्रसारण लाइनमा क्षति पुगी विद्युत् आपूर्तिमा समस्या आएको छ ।

यस्तै वीरगञ्ज-कलैया ३३ केभी प्रसारण लाइनमा समेत क्षति पुगेका कारण विद्युत् आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । भारतबाट विद्युत् आयात हुने १३२ केभी रक्सौ-परवानीपुर प्रसारण लाइनको ठूलो टावरमा समेत क्षतिग्रस्त भएको छ । सोही कारण विद्युत् आपूर्तिमा समस्या आएको छ । कलैया वितरण केन्द्रअन्तर्गतको विद्युत् प्रणालीमा मात्र एक हजार ५०० खम्बा ढलेका छन् ।

क्षतिग्रस्त भएका प्राधिकरणको संरचना तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित गराउनका लागि प्राधिकरणको हेटाँैडास्थित क्षेत्रीय कार्यालयको टोली तथा बारा र पर्साको टोली आँधी हुरी प्रभावित क्षेत्रमा पुगेका छन् । हेटाँैडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीका अनुसार आज साँझसम्म केही स्थानमा र मङ्गलबार अबेरसम्म सकेसम्म सबै स्थानमा विद्युत् आपूर्ति गर्ने तयारीमा प्राधिकरण जुटेको सुवेदीले जानकारी दिए ।

हावाहुरीले प्राधिकरणका तार चुन्डेका छन् भने ट्रान्सफर्मरसमेत लडेर क्षति पुगेको प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयले जनाएको छ ।प्राधिकरणले कलैयास्थित सबस्टेशन आइतबार नै चन्द्रनिगाहपुर सवस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाएको छ । दुवै जिल्लामा गरी दुई हजार बढी खम्बा लडेको प्रमुख सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्