Logo
१० माघ २०८१, बिहीबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. सिके राउत नेतृत्वको गठबन्धनको नाम अब ‘जनमत पार्टी’, निर्वाचन आयोगमा दर्ता गरिने

सिरहा : डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनलाई पार्टीमा परिनत गर्दै त्यसको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय भएको छ । प्रदेश २ स्थित सिरहाको लहानमा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो ।

यसअघि राउत समूह ‘स्वतन्त्र मधेस गठबन्धन’ का नाममा सक्रिय थियो । सरकारसंगको सम्झौतापछि आइतबार राष्ट्रियगान सयौं थुङ्गा फूलका हामि गाएर उक्त गठबन्धनको राष्ट्रिय परिषद बैठक बोलाइएको थियो ।

नव गठित पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार पार्टीको अध्यक्ष सीके राउत चयन भएका छन् भने पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहनेछ । त्यस्तै पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङ्गको अष्टदल रहने निर्णय गरिएको छ ।

यस्तै चुनाव चिन्हमा ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको पनि खानले जानकारी दिए । आयोगमा दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिनेछ ।

दुई साताअघि सरकारसँग ११ बुँदे समझदारी भएपछि सीके राउत मुलधारको राजनीतिमा आएका थिए । सरकारसँग सहमतिपछि राउतको यो पहिलो औपचारिक बैठक हो ।

बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ । उसले स्वतन्त्र मधेसका साथै जनमत संग्रहकाे मागसमेत परित्याग गरेको छ ।

केन्द्रीय समितिमा कोको ?

राष्ट्रिय परिषद बैठकले सिके राउतको नेतृत्वमै ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ । केन्द्रीय समितिका सदस्यहरुमा सप्तरीका सुरेन्द्र शर्मा र वविता इसर रहेका छन् भने महोत्तरीका कैलाश महतो, संजय यादव र चन्दन सिंह छानिएका छन् ।

त्यसैगरी सिरहाका राजकुमार यादव र सतिला यादव पनि केन्द्रीय सदस्य बनेका छन् । बर्दियाका अब्दुल खान र झापाकी कौशिला महतो केन्द्रीय सदस्य बनेका छन् ।

त्यस्तै मोरंगका परमेश्वर मुर्मु, सुनसरीका सीताराम पण्डित, धनुषाका इन्द्रजीत यादव, सर्लाहीका नरेश कुसवाहा, रौतहटका बिरेन्द्र साह र बाराका दिनेश यादवलाई केन्द्रीय सदस्य बनाइएको छ ।

त्यसैगरी ३५ सदस्यीय केन्द्रीय कमिटीमा पर्साका सञ्जय साह, नवलपरासीका ध्रुब गौड र दुर्गा चौहान, रुपन्देहीका भोपेन्द्र यादव, कपिवस्तुका हरिकुला खान, दांगका राधा यादव, बाँकेका इरफान अहम शेख, कैलालीका महेन्द्रप्रसाद चौधरी र सुनसरीका आशा मेहता छन् ।

राउतको पार्टीले स्वतन्त्र मधेसको नारा र नाममात्रै होइन, यसअघि उठाउँदै आएको जनमत संग्रहको माग पनि छाडेको छ । बैठकको निर्णयमा कहीँ पनि जनमत संग्रहको माग उठाइएको छैन ।

जनमत पार्टीको गठनसँगै जनमत जुटाउन जनतासमक्ष जाने र जनमतबाटै संवैधानिकै रुपमा जनताको समस्या, माग, हकहित र अधिकारका लागि अनवरत समर्पित र निःस्वार्थ भावले संघर्ष गर्ने प्रतिवद्धता बैठकले गरेको पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले विज्ञप्ति मार्फत जनाएका छन् ।

सिरहाको लहानस्थित मारबाडी सेवा सदनमा आइतबारदेखि शुरु भएको बैठकमा कार्यकर्तालाई मोवाइल बोक्न निषेध गरिएको थियो । बैठक अवधिभर खाने, बस्ने व्यवस्था सेवासदनभित्रै गरिएको थियो । बैठकले कार्यकर्तालाई नागरिकता बोक्न लगाइएका कारण पार्टी दर्ताका निम्ति रहेको ती पार्टीका कार्यकर्ताहरुले बताएका छन् ।

के-के भए निर्णय ?

सिके राउतको पार्टीले स्वतन्त्र मधेसको नारा र नाममात्रै होइन, यसअघि उठाउँदै आएको जनमत संग्रहको माग पनि छाडेको छ । बैठकको निर्णयमा कहीँ पनि जनमत संग्रहको माग उठाइएको छैन ।

पार्टीको निर्णय हेर्दाखेरि अब स्वतन्त्र मधेस गठबन्धनसँगै पृथकतावादी मागको औपचारिकरुपमा पटाक्षेप भएको छ । बैठकले जनताको हक र अधिकारका लागि संघर्ष गर्न भन्दै नेपालको संविधानभित्रै रहेर पार्टी स्थापना गरी अघि बढ्ने निर्णय गरेको छ ।

स्वतन्त्र मधेस गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अबिलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णय गर्दै चन्दन सिंहको संयोजकत्वमा तीन सदस्यीय सहमति कार्यान्वयन मिति बनाइएको सो पार्टीले जनाएको छ ।

प्रहरी हिरासतमा मारिएका बाँकेका जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमतिअनुसार क्षतिपूर्ती तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउन पहल गर्न समितिलाई नै जिम्मेबारी दिइएको छ ।

 

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्