विप्लवलाई प्रतिबन्ध होइन, वार्तामार्फत राजनितिक मुलधारमा ल्याउन सुझाव
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ताकै माध्यामबाट राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन अधिकतम पहल गर्न सरकारलाई सुझाव दिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने भन्दा पनि उनीहरुलाई वार्ता र संवादकै बाटोबाट संवैधानिक प्रक्रिया र राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन उपयुक्त हुने पनि स्पष्ट पारे ।
बुधबार संघीय संसद भवन परिसर नयाँ बानेश्वर सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले चन्द नेतृत्वको नेकपाले गरिरहेको हिंसात्मक गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै उनीहरुलाई सरकारले प्रतिबन्ध लगाउने भन्दा पनि राष्ट्रिय राजनीतिक मूल धारमा ल्याउन अधिकतम पहल गर्न उपयुक्त हुने बताए ।
नेता खाँडले राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउन पनि चन्द नेतृत्वको नेकपालाई आह्वान समेत गरे । नेपाली काँग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक समेत रहेका नेता खाँडले चन्द नेतृत्वको नेकपालाई उत्तेजित बनाउने खालको कुनै पनि गतिविधि अघि नबढाउन पनि सरकारलाई आग्रह गरे ।