महिला सशक्तिकरणको सबैभन्दा शक्तिशाली तस्बिर बनिन् न्यूजिल्याण्डकी प्रधानमन्त्री
३८ वर्षकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आरडर्न पछिल्लो एक वर्षमा महिला सशक्तिकरणको सबैभन्दा शक्तिशाली तस्बिर बनेकी छिन् । उनी संसारकी सबैभन्दा कम उमेरकी महिला प्रधानमन्त्री हुन् । सुत्केरी बिदा लिएर मातृत्व र करियरबीचको सन्तुलनको सन्देश दिने पनि उनी एक्ली प्रधानमन्त्री हुन् । क्लार्क गेफोर उनका पार्टनर हुन् । उनी डकुमेन्ट्री फिल्ममा होस्टिङ गर्छन् ।
महिला दिवसको अवसरमा उनले आफ्नो र जसिन्दाको कहानी यसरी बयान गरेका छन् । न्यूजिल्याण्डकी प्रधानमन्त्री अर्थात् मेरी पार्टनर जसिन्दा र मेरो बारे पढेर तपाईंलाई लाग्ला कि महिला समानता उल्टो दिशामा चलिरहेको छ । हाम्रो कहानीमा जसिन्दा मातृत्व र देशसँग जोडिएको आफ्नो जिम्मेवारीबीच सन्तुलन स्थापित गरिरहेको देखिन्छिन् ।
सुत्केरी बिदापछि संसदमा फर्किएको दिनदेखि नै हामी ९ महिनाकी छोरीलाई एक समूहको रुपमा हुर्काइरहेका छौं । म आमा-छोरीबीच पूलको भूमिका निर्वाह गर्छु ताकि छोरी निवले आमाको साथ र न्यूजिल्याण्डले उसको प्रधानमन्त्री पाउन सकून् । एउटा रोचक किस्सा यहाँ बताउन चाहन्छु । गत वर्ष सेप्टेम्बरको कुरा हो । निव तीन महिनाकी थिइन् । जसिन्दाले संयुक्त राष्ट्रमा प्रधानमन्त्रीको रुपमा भाषण दिन जानु थियो ।
न्यूजिल्याण्डको राजधानी वेलिंगटनबाट न्यूयोर्कको फ्लाइट १७ घण्टा छ । ६ दिनको भ्रमण, ४० भेटघाट र आवतजावतमा ३७ घण्टाको फ्लाइट । तीन महिनाकी छोरीसँग यो मुश्किल थियो । तर प्रधानमन्त्री भएको नाताले जसिन्दा न्यूयोर्क जानै पर्दथ्यो । नभए महिला भएका कारण देश सम्हाल्न नसकेको भन्ने आरोप लाग्थ्यो । निवलाई सँगै नलैजाँदा पनि आलोचना हुन्थ्यो । फ्लाइटको समय छोरीको निन्द्राको साइकल अनुरुप होस् भन्ने हाम्रो चाहना थियो । भाग्यवश, हामीले यस्तो फ्लाइट पायौं पनि । फ्लाइटमा जसिन्दा छोरीलाई चुप गराउनुका साथै भाषणको तयारी पनि गरिरहेकी थिइन् ।
म उठिरहेँ तर आमा-छोरीलाई सुताइदिएँ । किनभने जसिन्दाले अर्को दिन न्यूजिल्याण्डकी प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु थियो । यूएन महासभामा भाषण दिनु थियो । साथै, निवले आमालाई भाषण दिइरहेको हेरोस् भन्ने एउटा चाहना पनि थियो । अर्को दिन आमाको भाषण सुरु हुने बित्तिकै निवले दिसा गरिन् । म निवलाई बोकेर डाइपर बदल्नका लागि उपयुक्त स्थानको खोजीमा गएँ । मिटिङ रुममा मैले निवको डाइपर परिवर्तन गरिरहेको थिएँ त्यतिबेला जापानका डेलिगेशन आए । मैले डायपर परिवर्तन गरेको देखेर उनीहरु अचम्मित भए । मैले उनीहरुको प्रतिक्रियाको त्यो तस्बिर खिच्न भने पाइनँ ।
यूएनको इतिहासमा तीन महिनाको बच्चासहित प्रधानमन्त्री सरिक भएको यो पहिलो घटना थियो । यो पललाई संसारले महिला सशक्तिकरणको सबैभन्दा शक्तिशाली तस्बिरको रुपमा लिए । जसिन्दा ती सबै जिम्मेवारीलाई पूरा गर्न चाहन्छिन् जुन पुरुष प्रधानमन्त्रीसँग आशा गरिन्छ । साथै, आमा बनेपछि महिलाको करियर सिद्धियो भन्ने भ्रमलाई पनि चिर्न चाहन्छिन् । महिला मातृत्व र करियर दुबै सम्हाल्न सक्षम हुन्छन् भन्ने उदाहरण पनि स्थापित गर्न चाहन्छिन् ।
जसिन्दाको जीवनमा यो सन्तुलन आमा बनेपछि मात्र स्थापित भयो । तर उनले प्रधानमन्त्री पदसँग जोडिएका कुनै पनि काम कटौती गरेकी छैनन् । हो, बच्चा भएपछि हाम्रो काम एकदमै बढेको त छ । यसलाई हामी दुबैले बाँडेका छौं । निवले आमासँग धेरैभन्दा धेरै समय बिताओस् भनेर हामी निकै सचेत हुन्छौं । संसद चलाउने बेला थोरै समस्या त हुन्छ । म निवलाई दैनिक संसद लिएर जान्छु । त्यहाँ निवले आमासँग समय बिताउन पाउँछिन् र जसिन्दाले पनि छोरीलाई स्तनपान गराउन पाउँछिन् ।
म निवमा आइरहेको हरेक परिवर्तन महसुस गर्छु र आफ्नी पार्टनरलाई यसबारे बताउँछु । र साँच्ची, यो सबै गरेर मैले कुनै महान काम गरेको छैन ।
महिलाको भागको काम गर्नु नै वास्तविक समानता :
महिलाको भागको काम मानिने सबै काम गर्न पुरुष तयार भएमात्र त्यसलाई वास्तविक समानता भन्न मिल्छ । यदि हामीले यस्तो गर्न सके महिलाले ती सबै काम गर्ने समय र मौका पाउँछन् जुन उनीहरु गर्न चाहन्छन् । महिला-पुरुष समानताको यो सबैभन्दा सुखद क्षण हुनेछ । हाम्रो लागि यो मोडल सफल छ ।