झापा विद्रोहका शहीद प्रधान, पाएनन् अझैसम्म पनि सम्मान
भद्रपुर : झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट शहीदको सम्मान अझसम्म दिइएको छैन ।
सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका ५ योद्धालाई २०७२ सालमा सरकारले शहीद घोषणा गरे पनि सोही विद्रोहका बेला हत्या गरिएका झापा बुद्धशान्तिका प्रधानलाई शहीदको सूचीमा नाम समावेश गर्न छुटेको थियो । तत्कालीन नेकपा एमाले झापाका अध्यक्ष एवं शहीद राम प्रधान स्मृति प्रतिष्ठानका अध्यक्ष चिन्तन पाठकले उनलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण गरिएको र चाँडै प्रक्रिया पुर्याएर शहीद घोषणा गरिने आश्वासन पाएको बताए।
प्रधानलाई इलामको शान्तिपुरमा एक घरको कोठाभित्र आश्रय लिएर सुतेको अवस्थामा प्रहरी र पञ्चायतका समर्थकले बाँसको सुइरोले घोचीघोची हत्या गरेका थिए । प्रधानलाई हत्या गरिएको सेल्टरबाट गिरफ्तार गरिएका अर्का योद्धा सानो दुर्गा अधिकारीलाई १७ वर्ष जेलमा राखिएको थियो ।
झापा विद्रोहका नेता मोहनचन्द्र अधिकारी सबैभन्दा बढी १८ वर्ष जेल बसेक थिए । नरेश खरेल, राधाकृष्ण मैनाली, सीपी मैनाली, भीष्म धिमाल, मङ्गलमणि सतार, अम्बर कार्कीलगायत नेताले १६ वर्षभन्दा बढी जेल यातना भोगेका थियो ।