प्रतिनिधिसभा बैठक : मन्त्रीसहित ७ जनाप्रति शोक प्रस्ताव पारित पश्चात स्थगित
काठमाडौं : प्रतिनिधिसभाको शुक्रबारको बैठक हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।
प्रतिनिधिसभामा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभैया र हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।
संसद बैठकमा सभामुख कृष्णबहादुर महराले २०६४ र २०७० को संविधानसभा तथा २०७४ को संघीय संसदमा निर्वाचित दिवंगत अधिकारी विकास समितिका पूर्वसभापति र अहिले मन्त्री रहेको जानकारी दिए। बैठकले सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौन धारण गरेको थियो ।