Logo
११ पुस २०८१, बिहीबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पतालको बेथिती : ३ हाकिमको मिलोमतोमा बिना टेण्डर सञ्चालित औषधी पसल

काठमाडौं : २०७२ सालमा गरिएको टेण्डरको म्याद सकिएपनि वीर अस्पतालको आकस्मिक विभाग अगाडिका औषधी पसलहरु बिना टेन्डर सञ्चालित भैरहेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका खरिद शाखा प्रमुख भगवती थपलिया, निर्देशक डा. भूपेन्द्र बस्नेत र न्याम्सका निमित्त उपकुलपति डा. सुवोध अधिकारीको मिलोमतोमा ती औषधी पसल बिना टेण्डर चलेका हुन् । २०७२ सालमा गरिएको टेण्डरको म्याद सकिएपछि अस्पतालले ०७४ असार ३२ गते पसल खाली गर्न पठाएको थियो ।

तर अस्पतालका खरिद प्रमुख थपलिया, निर्देशक डा. बस्नेत र निमित्त उपकुलपति डा. अधिकारीको मिलेमतोमा ती औषधी पसलहरू नहटाइएको खरिद शाखाकै कर्मचारीहरू बताउँछन् । तीमध्येका एक कर्मचारीले भने, ‘तीन जनालाई कमिसन दिएका पसलहरु टसमस नभई चलिरहेका छन् ।’ त्यहाँ नयाँ भवन बन्ने भएपछि खरिद शाखाले ०७४ असोज २ गते नयाँ टेण्डर नहुञ्जेलसम्मको लागि साविकको मासिक भाडामा ५ प्रतिशत बढाएर पसल चलाउने आपसी समझदारी गरेको थियो ।

ती सटरहरुको मासिक भाडा फरक फरक छन् । जसमध्ये सटर नम्बर सातमा रहेको आरफ फार्मेसीको भाडा मासिक नौ लाख ३६ हजार नौ सय ८२ रुपैयाँ छ । त्यसमा ५ प्रतिशत जोड्दा उक्त भाडा करिब १० लाख ९३ हजार रुपैयाँ हुन्छ । तर पसल सञ्चालकले अस्पताललाई पुरानै दरको भाडा बुझाइरहेको ती कर्मचारीले बताए ।

त्यही मासिक ५ प्रतिशत कमिशनका लागि अस्पतालका खरिद प्रमुख, निर्देशक र उपकुलपतिले ती पसलहरुलाई छुट दिइरहेको खरिद शाखाका कर्मचारीहरु बताउँछन् । २०७२ सालमा भाडामा लगाइएका ५ वटा सटरमा औषधी पसल छन् ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्