सुनुवाई समितिको बैठकमा अनिवार्य उपस्थित हुन नेकपाको आग्रह
काठमाडौं : आइतबार बोलाइएको समिति बैठक कोरम नपुगेर स्थगित भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले भोलि मंगलबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुनआफ्ना सासदहरुलाई आग्रह गरेको छ ।
आइतबार कोरम नपुगेर स्थगित भएपछि नेकपा संसदीय दलले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन ‘हृवीप’लगाएको हो । कोरम नपुगेर बैठकै नबस्ने अवस्था आएपछि सबै सांसदलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको नेकपा एक नेताले बताए ।
मंगलबारको बैठकबाट थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाइ र अनुमोदन गर्ने तयारी छ ।
प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गर्दै आएको छ । नेकपाको बहुमत रहेको १५ सदस्यीय सुनुवाई समितिमा नेकपाका ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १र१ जना सांसद सदस्य रहेका छन् ।