नेपाली कांग्रेसको संशोधित विधान बहुमतबाट पास, हिन्दु राष्ट्रबारे फरक मत
काठमाडौं : नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले महासमिति सदस्यहरुलाई दिएको वचन उल्ट्याउँदै विधान पास गरेको छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले भने फरक मत राखेका छन् । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संशोधित विधान बहुमतबाट पास गरेको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति सदस्यलाई धोका दिन नसक्ने भन्दै फरक मत लेख्ने बताए । नेता कृष्ण सिटौलाले बैठक बस्नुअघि भएका सहमति प्रयासबारे जानकारी गराए । नेताहरुका अनुसार सिटौला र अर्जुनरसिंह केसीले पार्टी सभापतिलाई सहमतिका लागि थप प्रयास गर्न भनेका थिए ।
तर, देउवा पक्षीय नेताहरुको दबावका कारण बहुमतबाट केन्द्रीय सदस्यहरु स्वतः महाधिपेशन प्रतिनिधि हुन पाउने र आरक्षणमा पनि सीमा नरहने गरी बहुमतले विधान पास भएको छ । निर्णयमा पौडेलसँगै सिटौला, केसी, डा. रामशरण महत, नविन्द्रराज जोशी, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङलगायतका नेताहरुले फरक मत राखेका छन् ।
केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने र आरक्षण एक तहमा एक पटक मात्र हुनुपर्ने महासमिति सदस्यहरुको माग सम्बोधन भएन । पुसमा सम्पन्न महासमितिमा जिल्ला सभापतिहरुले यो मागलाई प्रमुख रुपमा उठाएका थिए । बैठक समापन गर्ने क्रममा पार्टी सभापति देउवाले केन्द्रीय समितिबाट विधान पास गर्दा सम्बोधन गर्ने वचन दिएका थिए ।
तर, आइतबार यो दुबै विषय सम्बोधन भएन । केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले परिमार्जनसहित विधान पास गर्ने प्रस्ताव राखेका थिए । लगतै केन्द्रीय सदस्यहरुले परिर्माजन भनेको केके भन्ने प्रश्न गरे । ‘उहाँले सामान्य शुद्धाशुद्धी मात्र भन्नुभयो । महासमितिमा पार्टी सभापतिले दिनु भएको बचन परेन’ केन्द्रीय सदस्य गगन थापा भन्छन् ।
हिन्दु राष्ट्रबारे फरक मत
विधानमा केन्द्रीय सदस्यहरु शंकर भण्डारी, चन्द्र भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, दिलेन्द्रप्रसाद बडूलगायतले हिन्दु राष्ट्रबारे फरक मत राखेका छन् । महासमितिमा नेताहरुले उठाएका विषयलाई सम्बोधन गर्नुपर्ने उनीहरुको माग थियो । केन्द्रीय सदस्य बालृकष्ण खाँडले निर्णय नभए पनि दस्ताबेजमा महासमितिमा आएको मतलाई समेट्नुपर्ने धारणा राखे ।
नेता गगन थापाले भने महासमितिमा बहुसंख्यक जनजाति प्रतिनिधिहरुले पार्टी कुनै एउटा धर्मको पक्षमा उभिए आफूहरु नटाउन नसक्ने धारणा आएको स्मरण गराए । यद्यपि धर्म परिर्वतन गराउने धन्दाविरुद्ध कांग्रेस उभिनुपर्छ भन्ने महासमिति सदस्यहरुको मत भएको थापाले बताएका छन् ।