Logo
५ आश्विन २०८१, शनिबार
(February 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थापा भन्छन्-‘आलोचना गर्नेलाई पनि कारवाही गर्न खोज्यो’, योगेश भन्छन् ‘फेसबुकहरु दर्ता हुनैपर्छ’

काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको आलोचना गर्नेलाई सरकारले कारबाही गर्न खोजेको बताएका छन् । संसदमा शुक्रबार सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीका आलोचकलाई दण्ड दिने गरी कानूनी व्यवस्था गर्न लागेको आरोप लगाएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीले प्रत्येक दिन अरुलाई होच्याउन मिल्ने, जिस्क्याउन र भन्न मिल्ने’ उनले भने ‘तर त्यसका बारेमा आलोचना गर्‍यो भने त्यही होच्याएको नाममा कसैले दण्ड पाउनेवाला छ ।’ सरकारले नियत नै खराब राखेर सूचना प्रविधिसम्बन्धी विधेयक ल्याउन लागेको थापाले आरोप लगाए ।

सरकारले कानून बनाउँदा संविधानमा भएको वाक स्वतन्त्रताको विषयलाई ध्यान नदिएको पनि बताए । ‘यहाँ विषय दफाको होइन, धाराको होइन, नियतको हो’ उनले भने ‘यो सदनमा सफल गरेर मात्र सच्याउन सकिने प्रस्तावित ऐन होइन ।’ थापाले कानूनका धारा र दफा छलफल गरेर सच्याउन सकिए पनि नियतलाई जनताको बलमा मात्र सच्याउन सकिने बताए ।

कांग्रेस सांसद थापाले विधेयकमा भएको व्यवस्थाअनुसार सामाजिक सञ्जालहरु दर्ता गर्न नआएमा सरकारले गर्न चाहेको के हो ? भनी प्रश्न गरे । ‘दर्ता हुन आएन भने बन्द गर्ने सरकारको चाहना हो ?’ थापाले सोधे ।

तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले अर्बौँको कारोबार गर्ने सामाजिक सञ्जाललाई नेपालमा दर्ता गरिनु जरुरी रहेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सूचना तथा प्रविधिसम्बन्धी विधेयकमाथि भएको छलफलमा सहभागी हुँदै सांसद भट्टराईले सूचना सञ्चारमाध्यम सेवा मात्रै भएनन् उद्योग पनि भइसकेकाले दर्ता अनिवार्य भएको उल्लेख गरे ।

‘सामाजिक सञ्जालको नियमन जरुरी छ, फेसबुकले मात्रै विज्ञापनका नाममा नेपाल वार्षिक १३ अर्ब भन्दा धेरै कारोबार गरिरहेको छ’, उनले भने, ‘त्यसैले सामाजिक सञ्जालको दर्ता महत्वपूर्ण छ । तर यसो गर्दा मौलिक हक, सञ्चारको हक र सूचनाको हकको संरक्षण जरुरी छ ।’

विधेयकका सूचनाको अदालत, सूचना केन्द्र, सामाजिक सञ्जाल व्यवस्थापन आदि राम्रा कुरा उल्लेखित भएको बताउँदै डाटाको सुरक्षा पनि गम्भीर विषय भएको उल्लेख गरे । ‘नेपाल सामरिक हिसाबले महत्वपूर्ण स्थानमा छ, त्यसैले पनि डाटाको सुरक्षा जरुरी छ’, उनले भने, ‘अभिव्यक्ति, विचारको र प्रेस स्वतन्त्रतासहितका अकुण्ठित अधिकारहरुलाई विधेयकले सुरक्षित गर्नुपर्छ ।’

सांसद भट्टराईले हरेक मान्छेको फेसबुक, ट्वीटर एकाउन्ट दर्ता गर्ने नभइ फेसबुक र ट्वीटरका सञ्चालक कम्पनी नेपालमा दर्ता गर्ने कुरा विधेयकमा भएकाले यसबाट कसैले भ्रम पाल्न नहुने पनि स्पष्टिकरण दिए ।

 

 

प्रकाशित मिति: Feb 22, 2019

प्रतिक्रिया दिनुहोस्