नेपाल-अष्ट्रिया सहकार्यको ६० वर्ष : अष्ट्रियाकी विदेशमन्त्री करिन नेपालमा
काठमाडौँ : नेपाल-अष्ट्रिया सहकार्यको ६० वर्ष पुरा भएको अवसरमा आयोजना हुने कार्यक्रममा विशेष संवोधन गर्ने योजना सहित अष्ट्रियाकी विदेशमन्त्री करिन केनिसिल नेपाल आइपुगेकी छिन् ।
नेपाल यात्रा क्रममा विदेशमन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री करिन सहितको १३ सदस्यीय प्रतिनिधि टोली बिहीबार नेपाल आइपुगेको छ ।
करिनको टोलीले परराष्ट्र मन्त्रीसहित विदेश मामिलासँग सम्बन्धीत व्यक्तिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । नेपालको जलविद्युत विकास, सांस्कृतिक सम्पदा, वातावरण खानेपानी लगायत क्षेत्रमा सहकार्य गर्दै आएको अस्ट्रियाले त्यसबारेमा छलफल गर्ने छ ।
त्यसपछि करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रद्धारा आयोजना हुने ‘नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रम’ लाई सम्बोधन गर्ने छिन् । करिनको टोली शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।