प्रणय दिवस : प्रेमको प्रतिक बन्यो रानीमहल, विवाहित र अविवाहित जोडीको भीड
पाल्पा : प्रण्य दिवसका अवसरमा पाल्पा तानसेन नगरपालिका रानीघाटस्थित प्रेमको प्रतिकका रुपमा रहेका रानीमहलमा युवापुस्ताको चहलपहल निकै बढेको छ । प्रणय दिवस (भ्यालेन्टाइन डे) मा युवापुस्ताका विवाहित तथा अविवाहित जोडी गहिरो प्रेमको सफलताका लागि त्यहाँ पुग्न रुचाउँछन् । प्रेमको प्रतीक रानीमहलमा बिहानदेखि भीडभाड लाग्दा चहलपहल बढेको हो ।
नेपालको ताजमहलका रुपमा परिचित रानीमहललाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । तानसेनदेखि १३ किलोमिटर उत्तरमा रहेको रानीमहल पैदल तथा गाडीमा यात्रा गर्न सकिने हुदाँ चहलपहल बढेको हो । रानीमहलमा यतिबेला प्रेम जोडीको लावालस्कर छ । उनीहरु महलसहितको तस्वीर लिन व्यस्त देखिन्छन् । राणाकालीन समयमा पश्चिमी कलाकौशलको प्रयोग गरी निर्माण गरिएको दरबार प्रेमको प्रतीकका रुपमा लिन थालेसँगै यस क्षेत्रको चलहपहल बढ्दै गएको हो ।
रानीमहल दरबारको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण रहेकाले अहिले यो लोभलाग्दो पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको छ । तत्कालीन पश्चिम कमाण्डका जनरल खड्गशम्शेर राणाले आफ्नी पत्नी तेजकुमारीको सम्झनामा विस १९५० दरबारको शिलान्यास गरी चार वर्षको अवधिमा दरबारको काम सम्पन्न भएको थियो । तेजकुमारीको विसं १९४९ मा निधन भएपछि खड्गशम्शेरले कालीगण्डकी नदीको किनारामा रहेको विशाल चट्टानमाथि दरबार निर्माण गर्न सफल भएको देखिन्छ ।
स्थानीय बासिन्दाका अनुसार प्रेम दिवसका अवसरमा खुशी साटासाट गर्नका लागि युवायुवती हजारौँको सङ्ख्यामा आउने गरेको बताउँछन् । पहिलापहिला मानिस रानीमहल घुमफिरका लागि आउने गरे पनि अहिले युवापुस्ताको बाक्लो उपस्थिति रहेको स्थानीयवासीको भनाइ छ । रानीमहल क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका वसन्त कुँवरका अनुसार बिहानैदेखि युवायुवती पैदल, गाडीमा यात्रा गरिरहेको बताउनुभयो । रानीमहलमा पाल्पा, रुपन्देही, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, गुल्मी क्षेत्रका आन्तरिक पर्यटक बढी आउने गरेको कुँवरको भनाइ छ ।
रानीमहल घुमफिरका लागि यहाँ प्राय: एक्लै आउँदैनन्, दुई देखि ५० सम्मको समूहमा आउँदा बिदाका दिनमा बढी चहलपहल हुने गर्दछ । रानीमहल दरबारक्षेत्र र कालीगण्डकी नदीले मानिसलाई आकर्षित गर्छ । दरबारको बायाँतर्फ शितलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई पोखरी र दाहिनेतर्फ पहरा दिने स्थल छ । बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।
यो महल बेलायती इञ्जिनीयरको डिजाइनमा बनाइएकाले निकै बलियो र आकर्षक देखिन्छ । यस महलको पूर्वतिर खड्गशम्शेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्यतलामा खड्गशम्शेरका कोठाहरू रहेका छन् । त्यस्तै वरिपरि रहेको बगैँचा र रानीपोखरीले महल आकर्षक देखाएको छ । दिवङ्गत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई ‘प्रेमको प्रतीक’का रूपमा लिइने गरिन्छ ।