काँग्रेस कार्यसमिति बैठकमा फेरि विधानकै कुरा, नेता केसी आक्रोशित
काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पदाधिकारी र सदस्य स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान राख्ने र नराख्नेबीच विवाद चर्किएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा माघ १० गतेदेखि केही दिन रोकिदै चल्दै आएको बैठकमा मंगलबारदेखि यो विवाद उत्कर्षमा पुगेको हो ।
विधानमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि र पूर्वपदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य तथा उम्मेदवार, प्रदेशसभाका सांसद र सांसदका उम्मेदवार स्वतः क्षेत्रीय प्रतिनिधि हुन पाउने व्यवस्था छ ।
महासमिति बैठकमा ५० भन्दा बढी जिल्ला सभापतिहरूले यो प्रावधान संशोधन गरी समानुपातिक तथा समावेशी सिट दोहोर्याउन नहुने व्यवस्था विधानमा राख्न प्रस्ताव दर्ता गरेका थिए । देउवा र पौडेलले यी दुवै माग केन्द्रीय कार्यसिमिति बैठकबाट सम्बोधन हुने भनी प्रतिबद्धता जनाएपछि मात्रै विधान महासमिति बैठकबाट पारित भएको थियो । तर देउवा आफूले जनाएको प्रतिबद्धतालाई लत्याउँदै विधानत चल्ने अडान राखेपछि समस्या सिर्जना भएको हो ।
विधान अनुसार महासमितिका २५ प्रतिशत सदस्यको हस्ताक्षरसहित प्रस्ताव दर्ता गर्नुपर्ने हुन्छ । जुन कुराले देउवा पक्षलाई बहस गर्ने बलियो मसला मिलेको छ । तर त्यतिबेला देउवा र पौडेलले जिल्ला सभापतिका दुवै माग केन्द्रीय कार्यसिमिति बैठकबाट सम्बोधन हुने भनी प्रतिबद्धता मात्र जनाएका थिए ।
त्यस्तै विधान र विश्वासको विषयलाई लिएर व्यक्ति प्रदान कि विधान भन्दै देउवा पक्षले अडान लिएको छ । बैठकमा विधान मस्यौंदा समितिका संयोजक एवम् महामन्त्री खड्काले विधानको कुरा गरेपछि नेता केसी आक्रोशित भएको स्रोत बताउँछ । केसीले विजयकुमार गच्छदारलाई उपसभापति बनाउने लगायतका अन्य विषयमा पार्टी विधानविपरित जान हुने, सभापतिले नै प्रतिबद्धता जनाएको कुरामा विधान देखाएर भाग्न खोज्नु गलत भएको बताएका थिए । जसले बैठकमा माहोल नै तरंगित भएको थियो ।
यस्तै केन्द्रीय सदस्य प्रदिप पौडेलले स्वतः प्रतिनिधिको प्रावधान राखिए महासमिति बैठकको ‘म्यान्डेट’ विपरित हुने भन्दै त्यसमा सहमति नहुने बताए । ‘स्वतः प्रतिनिधिको व्यवस्था नहटाउँदा नेताहरूप्रति नै अविश्वास बढ्छ र महासमिति सदस्यहरूलाई धोका हुन्छ । महासमिति बैठकबाट पारित भइसकेका विषयलाई उल्टाउँदा तपाईंहरूको ९देउवा, पौडेल० विश्वासमा कुठराघात हुन्छ ।,’ उनले भने ।
केन्द्रीय पदाधिकारी तथा सदस्य महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान विधानमा यथावत रहने सभापति देउवा पक्षले जोड बल गरिरेको स्रोतले बतायो । देउवा पक्षले केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान विधानमा यथावत राख्ने गरि बहुमतका अधारमा विधान पारितको तयारी गरेको छ । आजको बैठकमा विधानअनुसार सहमतिका लागि अधिकतम प्रयास गरिने र सहमति हुन नसके पार्टी विधान बहुमतका आधारमा स्वीकृत हुने स्रोतले बतायो ।
अन्य पक्षका नेताहरुले महासमितिका अधिकांश प्रतिनिधिहरु त्यसैको पक्षमा रहेको भन्दै महासमिति बैठकको मतादेशअनुसार समावेशी र समानुपातिक अवसर एक पटकका लागि मात्रै लिन पाउने व्यवस्था विधानमा राख्नुपर्नेमा जोड दिए । हिजोको बैठकमा संस्थापन इत्तर पक्षका प्रमुख नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शेखर कोइराला, बलबहादर केसी, दिलेन्द्र बडू, गगन थापा, प्रदिप पौडेललगायतले जिल्ला सभापतिलाई दिएको प्रतिबद्धताअनुसार पार्टीको विधानलाई पारित गर्नुपर्नेमा सभापति देउवाको ध्यानकर्षण गरेका थिए । तर पौडेलले भने आफूले दिएको आश्वासनमा बेमानी नगर्ने बताइसकेका छन् ।
‘हामीले आश्वासन दिएको छौँ । त्यो बेला त्यो कुरालाई केन्द्रीय कार्यसमितिबाट पुरा गछौँ भनेका हौँ । यसमा म प्रतिबद्ध छु ।,’ बैठकमा पौडेलले भनेका थिए । यता पार्टी सभापतिले आफूले गरेको प्रतिबद्धतामा अन्य नेताहरुलाई बोल्न उतारेका छन् । देउवाले मैले गरेको प्रतिबद्धतामा सहयोग गर्नुहोस् भन्नुको साटो नेताहरुलाई प्रतिवादमा उतारेको इतर पक्षका नेताहरुको आरोप छ । इतरपक्षका नेताहरुले विधानले व्यवस्था गरेको संक्रमणकालीन प्रावधानलाई कार्यान्वयनमा लैजानुपर्ने मागसमेत गरे । तर देउवा पक्षले भने संक्रमणकालीन प्रावधान भन्दा तदर्थ समिति बनाएर जाने सोचमा छ ।
बैठकमा देउवा पक्षले नेता किशोरसिंह राठोरले अहिलेको अवस्थामा संक्रमणकालीन प्रावधानअनुसार जान नसकिने जिकिर गरेका हुन् । अहिले काँग्रेसमा पुरानै संरचना अनुसार क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधि रहेका छन् । तिनीहरुलाई अहिलेको अवस्थामा संक्रमणकालीन प्रावधानअनुसार विधानत कार्यान्वयन गर्न इतर पक्षले जोड दिएको छ ।