थाइ राजाको असन्तुष्टिपछि निर्वाचन आयोगको फैसला ‘प्रधानमन्त्रीका लागि राजकुमारी अयोग्य’
देशको प्रधानमन्त्री बन्ने सपना देखेकी थाइल्याण्डकी राजकुमारीको रहर अधुरै रहने भएको छ । थाइल्याण्डका राजा वाजिरालङ्कोर्नले आफ्नी दिदीले आउँदो चुनावमा प्रधानमन्त्रका लागि प्रतिस्पर्धा गर्ने जनाएपछि त्यसको आलोचना गरेका थिए ।
राजा वाजिरालङ्कोर्नकी दिदी राजकुमारी उबोल्राताना माहिडोलले प्रधानमन्त्रीका लागि प्रधानमन्त्रीका लागि दाबेदारी प्रस्तुत गरेकी थिइन् । राजाको असन्तुष्टिपछि थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारीलाई चुनाव लड्न अयोग्य घोषित गरेको छ ।
राजाको असन्तुष्टिपछि राजकुमारी उबोल्राताना माहिडोललाई प्रधानमन्त्रीको रुपमा प्रस्तावित गरेको पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले पनि यसबारे सोच्ने बताएको थियो । थाइल्याण्डमा आउँदो मार्चमा चुनाव हुँदैछ ।
६७ वर्षकी उबोल्रातानालाई पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको थियो । राज परिवारको सदस्यले प्रधानमन्त्रीका लागि दाबेदारी दिनु अनुचित रहेको राजा वाजिरालङ्कोर्नले उल्लेख गरेका थिए ।
राजाले वक्तव्य जारी गरेर यस्तो कदमले देशको सँस्कृतिको अवमूल्यन हुने बताएपछि निर्वाचन आयोगले कदम चालेको हो । थाइ राजपरिवारका सदस्य अहिलेसम्म सार्वजनिक रुपमा राजनीतिबाट बाहिर रहँदै आएका छन् ।
राजाको वक्तव्यपछि निर्वाचन आयोगले मार्च २४ मा हुने चुनावका लागि राजकुमारी उबोल्रातानालाई अयोग्य घोषित गर्ने अपेक्षा अनुसारकै निर्णय गरेको हो ।
पाँच वर्षदेखि सैन्य शासनमा रहेको थाइल्याण्डमा यो चुनावपछि आधिकारिक रुपमा पुनः प्रजातन्त्र स्थापित हुने अपेक्षा छ ।