हुण्डी कारोबारमा मुछिएका सहकारी सञ्चालक, बचत रकम फिर्ता माग्दा सेयर सदस्यलाई दिए धम्की
बिराटनगर : हुण्डी कारोबारमा मुछिएको बिराटनगरको एक सहकारीका सञ्चालकले बचत रकम फिर्ता माग्दा सेयर सदस्यलाई धम्की दिने गरेको पाइएको छ । पुस अन्तिम साता हुण्डी कारोवार गरेको आरोपमा पक्राउ परेका ‘आस्था नेपाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष राजेशकुमार हेडासहितको समुहले बचतको रकम फिर्ता माग्ने सेयर सदस्यलाई धम्की दिने गरेको पाइएको हो ।
गत पुस २७ गते सहकारी कार्यालयबाटै हुण्डीमार्फत आएको ६९ लाख ७५ हजार ६ सय रुपैयाँसहित प्रहरीले सहकारीका अध्यक्ष हेडा, म्यानेजर दीपक कर्ण र कर्मचारी सुमित साहलाई पक्राउ गरी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीसमक्ष बुझाएको थियो । तर, उनीहरु धरौटी बुझाएर छुटिसकेका छन् । अनुसन्धान कार्यालयबाट ७० लाख धरौटीमा छुटेका सञ्चालक हेडाले बचत फिर्ता लिन आएका कटहरी-२ आदर्श टोलका सुवास यादव र उनका बुबा राजु यादवको बचत फिर्ता नगरी धम्की दिएको पीडितको गुनासो छ । ‘जे सक्छस् त्यही गर, अहिले पैसा दिन्न भन्छन् ‘सुवास भन्छन्, ‘बचत फिर्ता माग्न जादा कुटुँलाझै गरेर धम्क्याउँछन् ।’
एक महिनायता बचत बापतको रकम फिर्ता गर्न धाइरहे पनि नदिएको उनको गुनासो छ । अटो रिक्सा चलाउने सुवास र चिया बेच्ने उनका बुबा राजुले हेडाको सहकारीमा दैनिक बचत गर्दै आएका थिए । तर, सहकारीका सञ्चालक नै हुुण्डी कारोवारमा मुछिएपछि बचत बापतको १ लाख रुपैयाँ फिर्ता माग्न उनीहरु सहकारी सञ्चालकसमक्ष पुगेका हुन् । तर, आफैंले जम्मा गरेको रमक माग्दा धम्की दिने गरेको सुवासले अनलाइनखबरलाई बताए । ‘ब्याज दिनुपर्दैन बचत मात्र फिर्ता दिनुहोस भन्दा पनि मान्दैनन्’ यादवले भने ‘१० प्रतिशत काट्छु भन्छन् ।’
सहकारीमा सुवासको ६५ हजार ५ सय र राजुको ३५ हजार १०० रुपैयाँ वचत छ । एक वर्षे फिक्स डिपोजिट बचत भएका कारण फिर्ता गर्न नमिल्ने आस्था नेपाल बहुदेश्यी सहकारीका अध्यक्ष राजेशकुमार हेडा बताउँछन् । फिक्स डिपोजिटको रकम अगाडि नै लगे १० प्रतिशत शुल्क काट्ने र ब्याज पनि नदिने उनले बताए । ‘समय अवधि नपुगी निकाल्दा बचतको १० प्रतिशत काटिन्छ’ उनले भने ‘फिक्स डिपोजिट भएकाले समय नपुगी दिन मिल्दैन ।’ हेडाले कसैले नधम्क्याएको बताए । समय नपुगी बचत माग गरे ब्याज पनि नदिने उनले दोहोर्याए ।
त्यस्तै, सहकारी सञ्चालक हेडाले समयअगावै रकम दिँदा ब्याज नदिने वा १० प्रतिशत रकम काट्ने बताए सहकारीले यस्तो गर्न नपाउने तर्क विज्ञहरुको छ । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल बचतकर्ताको १० प्रतिशत शुल्क काट्न नमिल्ने बताउँछन् ।