भारतीय कामदारको अनिवार्य ‘श्रम स्वीकृति’ ले मन्त्रालयमा लफडा, सर्कुलरप्रति आपत्ति
काठमाडौं : भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिने भन्ने विषयमा माघ १० गते जारी गरेको सर्कुलर विवादमा तानिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा अधिकृत प्रशान्त शाहले जारी गरेको सर्कुलरप्रति सोही मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले आपत्ति जनाएका छन् ।
एउटै मन्त्रालयले एकसाता अघि सर्कुलर जारी गर्ने र अर्को साता खण्डन गर्ने कार्यले श्रम रोजगार मन्त्रालयको काम गराईमा केटाकेटीपन रहेको देखाएको छ । सहसचिव रामप्रसाद घिमिरे भन्छन्( भारतीय कामदारलाई श्रम स्वीकृति अनिवार्य गरिएको छैन । भारतीय कामदारलाई समेत श्रम स्वीकृति अनिवार्य गरिएको मन्त्रालयको सर्कुलरसहित समाचार प्रकाशित भएलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहचिव रामप्रसाद घिमिरेले ‘सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको’ बताए ।
मन्त्रालयकै लेटरप्याडमा जारी विज्ञप्तिको खण्डमा अर्को विज्ञप्ति जारी गर्दै घिमिरेले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिने भनी अफवाह फैलाइएको र त्यसमा सत्यता नभएको तर्क गरे । सहसचिव घिमिरेले भने, ‘मन्त्रालयको जानकारीविना कसको संलग्नतामा यसप्रकारको अफवाह फैलने परिस्थितिको सिर्जना भएको भन्ने बुझेर आजै स्पष्ट पार्छौं ।
मंगलबार राति नै सहचिव घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्वन्धमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट विभिन्न श्रम तथा रोजगार कार्यालयहरुलाई गरिएको भनिएको परिपत्र साँचो या झूठ के हो, यदि साँचो हो भने क(कसको संलग्नतामा, के कस्ता आधार लिई र के प्रयोजनका लागि गरिएको हो भन्ने विषयमा सोधखोज र छानविन गरी सत्यतथ्य बाहिर ल्याउने छौं ।’ मंगलबार कार्यालय समय भन्दा पछिमात्रै यसबारेमा जानकारी आएकाले बुधबार यस विषयमा ‘एक्सन’ लिइने सहसचिव घिमिरेले बताए ।
ऐन नियम तथा व्यवहारमा समेत लागु नभएको कुरा यसरी बाहिर आउनु गलत भएको भन्दै सो विषय बाहिर ल्याउने कर्मचारीलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरणसमेत सोध्न लागिएको घिमिरेले जानकारी दिए । भारतीय कामदारले नेपालमा श्रम स्वीकेति लिनु नपर्ने बताउँदै सहसचिव घिमिरेले भने, ‘भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति भन्ने कुनै ऐन वा व्यवहारमा समेत लागु भएको छैन । कसैले लिन चाहे लिन सक्छन् । तर, अनिवार्य भन्ने हुँदै नभएको विषय बाहिर ल्याइएको छ । यस विषयमा आवश्यक कारजाही हुन्छ ।’
मन्त्रालयकै सर्कुलर भन्छ- भारतीय कामदारलाई श्रम स्वीकृति लिन लगाउनू
मन्त्रालयका सहसचिव घिमिरेले आफ्नै मन्त्रालयबाट एकसाता पहिले जारी भएको सर्कुलरका विषयमा आपत्ति जनाए पनि मन्त्रालयमा कारदाना अधिकृतको जिम्मेवारी निभाइरहेका शाखा अधिकृत प्रशान्त शाहले जारी गरेको सर्कुलरमा भने भारतीय कामदारलाई श्रम स्वीकृति लिन लगाउनू भन्दै श्रम तथा रोजगार कार्यालयहरुलाई स्पष्ट निर्देशन दिइएको छ ।
यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन सो सर्कुलरमा निर्देशन दिएको छ । विभागका कारखाना निरीक्षक प्रशान्त शाहद्वारा हस्ताक्षरित निर्देशनमा भनिएको छ, ‘प्रतिष्ठान निरीक्षण गर्दा प्रतिष्ठानमा कार्यरत भारतीयहरुको संख्या अद्यावधिक गर्ने तथा उक्त भारतीय कामदारहरु श्रम स्वीकृति नलिई काम गरेको पाइए श्रम स्वीकृति लिन भनी प्रतिष्ठानलाई जानकारी गराउन निर्देशानुसार अनुरोध छ ।’
त्यस्तै, मन्त्रालयका सहसचिव घिमिरेले कारखाना अधिकृत प्रशान्त शाहलाई मन्त्रालयमा बोलाएर स्ष्टीकरण सोधिने बताए पनि भारतीय कामदारसँग श्रम स्वीकृति माग्ने निर्देशन प्रधानमन्त्री कार्यालयबाटै आएको शाखा अधिकृत शाहले पत्रमा उल्लेख गरेका छन् ।