गलत नीतिका कारण पहाडको विकास हुन सकेन, समृद्धिका लागि सबैभन्दा बढी अधिकार वडालाई
सिन्धुली : नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईले विगतका शासकको गलत नीतिका कारण पहाडको विकास हुन नसकेको बताएका छन् । समावेशी विकासले मात्रै पहाडमा समृद्धि आउने र यसका लागि केन्द्रलाई भन्दा स्थानीय तह र त्यसमा पनि वडासँग बढी अधिकार हुनुपर्ने उनले बताए ।
‘अधिकार केन्द्रमा राख्ने होइन संघलाई भन्दा प्रदेशलाई र प्रदेशलाई भन्दा स्थानीय तहलाई, स्थानीय तहलाई भन्दा वडालाई बढी अधिकार दिनुपर्छ’ मन्त्री भट्टराईले, ’त्यसो भए मात्रै विकास जनताको घरदैलोमा पुग्छ ।’ सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा मंगलबार आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराइले पहाडबाट बसाइसराई गर्नुको साटो पहाडमा नै विकास र समृद्धि ल्याउनेतिर ध्यान जानुपर्ने धारणा राखे ।
‘अब पहाडमा नै कृषिको व्यवसायीकरण कसरी गर्ने, पर्यटन प्रवर्द्धन कसरी गर्ने र औद्योगीकरण कसरी गर्ने भन्ने योजना बनाउँदै कार्यान्वयन गर्ने बेला आएको छ,’ उनले स्पष्ट पारे । असल राजनीति र समावेशी विकासका लागि मध्य पहाडी पुष्पलाल लोकमार्ग (चिवा भञ्ज्याङ पाँचथरदेखि झुलाघाट बैतडीसम्म) को जनसंवाद यात्राको क्रममा सिन्धुली आइपुगेका डा. भट्टराइले मानिसलाई नियतले नभएर परिस्थितिले भ्रष्ट बनाएको बताए ।
मानिसलाई नियतले होइन परिस्थितिले भ्रष्ट बनाउछ। परिस्थिति अनुसार विधि र प्रणालीमा परिवर्तन गर्न नसक्दा भ्रष्टाचार, अनियमितता बढ्दै गइरहेको छु उनले भने । देशलाई एकदर्जन जति कमिशन खोरहरूले विगारिरहेको बताउँदै उनले भ्रष्टाचार शक्ता अनि फेरि भ्रष्टाचार फेरि सत्ताको चक्र ब्यूहमा देश फसिरहेकोमा चिन्ता समेत व्यक्त गरे । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अगाडि थपे, ’गरिबी र बेरोजगारी उन्मूलन गरेर सबैले प्रतिफल पाउने र दीगो विकास समृद्धिको मोडेल अपनाउन आवश्यक छ ।
यसलाई हामीले समृद्धि सबैका लागि, सधैंका लागि’ भनेका छौं ।’ सोमबार बेलुकानै ग्वाल्टार आइपुगेका डा. भट्टराईले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजिवी शिक्षक तथा स्थानीयसँग भेटघाट तथा छलफल गरेका थिए । भट्टराईलाई उच्च माध्यमिक शिक्षक एशोसिएसन, सिन्धुली र स्वास्थ्य चौकी ग्वाल्टारले ज्ञापन पत्र समेत बुझाएका छन् ।