डा. यादवदेव भट्टको टोली पारसलाई बचाउन सफल, तर अझै खतरामुक्त भन्न नसकिने
काठमाडौं : हृदयघात भएर नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारसको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार उनी अझै खतरामुक्त भइसकेका छैनन् ।
छातीमा असह्य पीडाको महसुस भएर पारसलाई सोमबार बेलुकी ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण पश्चात उनलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा मुटुको धमनी पूर्ण रुपमा बन्द रहेको पाइएको थियो ।
‘त्यतिबेला उनको ज्यान बचाउन निकै कठिन देखिएको थियो । तर भाग्यवश डा. यादवदेव भट्ट अस्पतालमै थिए । उनको टिमले निकै परिश्रम गरेर पारसलाई बचाउन सफल भएको छ,’ अस्पताल स्रोतले भन्यो । बन्द धमनी खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ । अहिले उनलाई सीसीयुमा सारिएको छ ।
पारसको उपचारमा प्राडा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको छ । ‘उनको स्वास्थ्य हाल स्थिर रहेता पनि खतरामुक्त अझै भैसकेको छैन ।,’ अस्पतालको विज्ञप्तिमा भनिएको छ, ‘उनी केही दिन अस्पतालमा नै रहनेछन् ।’