घरघरमा ‘ कृषि मोबाइल एप्स’
सल्यान : कपुरकोट गाउँपालिकाले ‘कृषि मोबाइल एप्स’को शुरुआत गरेको छ । कृषकलाई मौसम, प्रविधिलगायत विषयमा घरमै जानकारी दिनका लागि सो सेवा थालिएको छ ।
किसानले सहजै आफ्नो फोनमा डाउनलोड गरी एप्सको प्रयोग गर्न सक्ने ‘उपसर्ग टेक्नोलोजी’का प्रबन्धक युवराज आचार्यले जानकारी दिए । “यो एप्स एक पटक डाउनलोड गरिसकेपछि इन्टरनेटको आवश्यकता पर्दैन, इन्टरनेटको पहुँचभन्दा बाहिरका किसानले पनि घरमै बसेर जानकारी लिन सक्छन्”, उनले भने ।
‘कृषि कपुरकोट’ नाम दिइएको उक्त एप्समार्फत किसानले कृषि विज्ञसँग कुराकानी गर्न सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए। “एप्समा कृषि प्रविधि, विज्ञ सुझाव तथा च्याट, कृषि सूचना/समाचार, बजार मुल्य, मौसम पूर्वानुमान, कृषि तालीम, कृषि दस्तावेज, आवश्यक फोन नम्बर तथा विज्ञ विवरण उपलब्ध हुनेछ,” उनले भने।