Logo
४ मंसिर २०८१, मंगलबार
(January 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतन्त्रमा संविधान भन्दा माथि कोही हुँदैन त्यसैले केही जना सडकमा उत्रिँदैमा आत्तिनु पर्दैन : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा संविधान भन्दा माथि कोही पनि नहुने बताएका छन् ।

स्वीट्जरल्याण्डको डाभोसमा भएको सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै लोकतन्त्रमा सबै समस्याको समाधान संवाद र संविधानको मातहतमा रहेर खोजिनु पर्ने बताएका छन् ।

डा. गोविन्द केसीसँग आफ्नै नेतृत्वको सरकारले गरेको सहमति विपरित चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको बारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले स्पष्ट जवाफ दिएनन् । ओलीले अनशनरत डा. केसी र उनीसँग भएको सहमति तथा संसदबाट शुक्रबार पारित भएको विधेयकबारे पत्रकारले बारम्बार प्रश्न गर्दा पनि जवाफ दिएनन् ।

डा. केसीसँग सम्बन्धित प्रश्नको सीधा जवाफ नदिएका प्रधानमन्त्री ओलीले भने, ‘म भर्खरै आउँदैछु, यताको कुरा राम्ररी बुझ्नु पर्छ । तर्क र तथ्यमा आधारित हुनुपर्छ ।’

उनले अघि भने, ‘संवाद गर्नु छ वा संवादबाट समाधान गर्नु पर्छ । उत्तेजना र आवेशमा आउने होइन । देशको हितमा काम गर्नु पर्छ । संविधान भन्दा माथि कोही पनि हुन सक्दैन । त्यसको मर्यादा राख्नु पर्छ ।’ उनको यो भनाई डा. गोविन्द केसीप्रति लक्षित थियो ।

डा. केसीबारे फेरि गरिएको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘यसमा तपाईँहरुले चिन्ता लिनु पर्दैन । लोकतन्त्र हो र तीन करोड जनता छन् । केही सडकमा उत्रिँदैमा या यस्ता खालका विवाद हुँदैमा आत्तिनु पर्दैन ।’

संसदले विधेयक पारित गरेसँग डा. केसी र सरकारबिच सहमतिको सम्भावना तत्काल देखिएको छैन । डा. केसी १६ औँ पटकको अनशनमा छन् ।

प्रकाशित मिति: Jan 26, 2019

प्रतिक्रिया दिनुहोस्