चिसो बढ्दै : वर्षाका कारण यस वर्षकै सबैभन्दा ठूलो हिमपात, पर्सी बिहानदेखि पुन:पश्चिमी वायुको प्रभाव
काठमाडौं : पश्चिमी वायुको प्रभावले आज देशैभरको मौसम बद्ली भएर धेरै स्थानमा वर्षा भएको छ । पश्चिमी वायु सक्रिय रहेपनि भोलि मौसम सफा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि मौसम सफा भएपनि पर्सी बिहानदेखि फेरि पश्चिमी वायुको प्रभाव भित्रिने मौसमविद् सुजन सुवेदीले जानकारी दिए । उनका अनुसार पर्सीदेखि फेरि देशैभरको मौसम बदली हुने र अधिकांश ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
आज देशका उच्च पहाड र हिमाली क्षेत्रमा हिमपात भैरहेको छ । हिजोदेखि यस वर्षकै सबैभन्दा ठूलो हिमपात भएको महाशाखाले जनाएको छ । आज पानी परेकाले भोलि बिहानदेखि चिसो बढ्ने अनुमान छ ।
हिमपातले हिउँदे बाली र तरकारीमा फाइदा पुगेको वरिष्ठ कृषि वैज्ञानिक रामबहादुर केसीले जानकारी दिए । कर्णाली प्रदेशका हिमाली जिल्ला, गण्डकी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा ठूलो हिमपात भएकाले जनजीवन कष्टकर बनेको छ ।
फलफूल तथा तरकारी बालीमा फाइदा पुगेपनि पशुचौपाया र जंगली जनावरलाई भने चिसोले असर गर्ने वैज्ञानिक केसीले बताए । नेपालमा मात्र नभएर पश्चिमी वायुको असर भारतका तीनवटा राज्यमा समेत देखिएको छ
भारतका जम्मु काश्मीर, उत्तराखण्ड र हिमाञ्चल प्रदेशको जनजीवन कष्टकर बनेको छ । एकहप्तादेखिको हिमपातले त्यहाँ अहिलेसम्म ३० जना भन्दा धेरैको मृत्यु भैसकेको छ । सयौं पर्यटक विभिन्न ठाउँमा अलपत्र परेका छन् ।
सुरक्षाकर्मीले हेलिकप्टरको सहायतामा उद्धार गरिरहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । जम्मु काश्मीर, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा दुई दशकयताकै ठूलो हिमपात भएको भारतीय मौसम विज्ञान विभागले जनाएको छ ।