ओली स्वीटजरल्याण्ड प्रस्थान, विश्व डाभोस बैठकमा पहिलो पटक प्रधानमन्त्रीस्तरमा नेपालले भाग लिदै
काठमाडौं : विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज उनलाई सभामुख कृष्णबहादुर महरा र उपप्रधानमन्त्री ईश्वर पोखरेलले विदाई गरे ।
सो अवसरमा मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित थिए । प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।
यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नुहुने छ । सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालले पहिलो पटक प्रधानमन्त्रीस्तरमा भाग लिन लागेको हो ।