नेपाली नागरिकहरूको सम्पति विदेशी बैंकमा, अखबारमा आएका सबै विषयलाई अन्तिम सत्य मान्न नसकिने
काठमाडौं : आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरुवात भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरूको सम्पति विदेशी बैंकमा रहेको भन्ने विषयमा आवश्यक छानबिनपछि मात्रै सत्यतथ्य थाहा हुने बताएका छन् ।
संघीय संसदको प्रतिनिधिसभामा शुक्रबार सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अखबारमा आएका कुराहरूलाई मात्रै अन्तिम सत्य मानेर सरकार अगाडि नबढ्ने बताएका हुन् ।
उनले अध्ययन अनुसन्धानबाट मात्रै सत्य बाहिर आउने बताए । नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज खधिकारीले सोधेको प्रश्नको जवाफ दिँदै भने, अखबारमा आएका कुराहरूलाई नै सम्पूर्ण सत्य भनेर भन्न सकिन्न ।
चर्चामा आएका कुराहरूलाई अनुमानकै आधारमा असत्य भन्न पनि सकिन्छ । यसका बारेमा उपयुक्त अनुसन्धानबाट तथ्य पत्ता लगाइनेछ। नियमित प्रक्रियामा कानुन अनुसार अनुसन्धान हुनेछ ।
नेपालिक्सु नामक खोजुले नेपालका केही व्यक्तिको सम्पति विदेशका बैंकमा राखिएको दाबीसहितको रिपोर्ट सार्वजनिक गरेको थियो । यसैबारे अधिकारीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले सरकार देश विकासमा प्रतिवद्ध रहेको बताए ।
उनले आफू सुशासनका लागि प्रतिवद्ध रहेको जानकारी दिए । उनले भने, वर्तमान सरकार देशमा सुशासन र विकासप्रति प्रतिवद्ध छ । सुशासन र विकासका निम्ति भ्रष्टाचारको नियन्त्रण र उन्मुलन आर्थिक पारदर्शिता गर्न नेपाल सरकार प्रतिवद्ध छ ।
अनियमितताका सम्बन्धमा कुनै प्रकारको सहिष्णुता हुँदैन । देशलाई घाटा र नोक्सान पार्ने कुरासँग सहिष्णु हुन सकिदैन । प्रधानमन्त्री ओलीले उक्त खोजुमा आरोपित गरिएका केही उद्योगीले पत्रकार सम्मेलन गरेरै प्रतिवाद गरेको र केहीले खोजकर्ताहरूलाई नै बाहिर आएजस्तो होइन भनेको कुरा बाहिर आएको बताए ।