लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाको कथा : भत्ता पाइने आशमा धेरै सन्तान
बाँके : यहाँको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि सन्तान जन्माउने गरेका छन् । सो समुदायका ४६ घर छन् । सरकारले यो जातिलाई प्रतिव्यक्ति मासिक रु दुई हजार भत्ता दिने गर्दछ । भत्ताकै लागि उक्त जातिले सन्तान बढाइरहेका छन् । नेपालगञ्ज बजारसँग जोडिएको इन्द्रपुरमा छ÷सात सन्तान त सामान्य नै मानिन्छ ।
ननकैया कुचबधियालाई बच्चा जन्मेको दिनसम्म थाहा छैन । उहाँले काखमा छोरालाई च्यापिरहनुभएको थियो । “तिहारअघि जन्मेको छोराको राम्रो नाम सोच्न नसकेर अहिलेसम्म यसको नाम राख्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “हजुर मेरो छोराको राम्रो नाम राखिदिनुस् न ।”
हेर्दा ३० वर्ष आसपासकी ननकैयाले छ सन्तान जन्माइसक्नुभएको छ । उहाँलाई आफ्नो नाबालक छोराको नाम टोलमा कसैसँग नमिल्ने चाहिएको छ । त्यसो त ननकैयालाई आफ्नो उमेर पनि राम्रोसँग थाहा छैन । उहाँले भन्नुभयो, “खै उमेर त्यस्तै ३० वर्ष कटेजस्तो लाग्छ, मलाई त उमेर पनि थाहा छैन ।” यस्तै छ सन्तानकी आमा गीता कुचबधियाले भन्नुभयो, “अब बच्चा जन्माउदिन, पाँच वर्षे औषधि नरप्लान्ट राखेकी छु ।” इन्द्रपुरमा रहेका कुचबधिया जाति प्रति तथा ऐलानी जग्गामा बसेका छन् ।
ननकैयाजस्तै ६ सन्तानकी आमा फूलमाताले सन्तान धेरै चाहिने बताउनुभयो । लैँगीका पनि सात सन्तान छन् । सन्तान धेरै भएर बढी भत्ता पाउने भएकाले गाउँमा उहाँ पैसावाला गनिनुहुन्छ । उहाँका पाँच छोरी र दुई छोरा छन् । सिलौटा, जाता, सनपाटको डोरी बेचेर सो जातिले गुजारा चलाउने गर्छन ।
बजारमा मिक्चर, प्लाष्टिकका डोरी आएपछि आफ्नो व्यवसाय धरापमा परेको पटवारी कुचबधियाले बताउनुभयो । “अहिले त व्यवसाय हुन छाड्यो, सरकारले दिने भत्ताले जीविका चलेको छ”, उहाँले भन्नुभयो । इन्द्रपुर, फुल्टेक्रा र मनिकापुरमा सो जातिको बसोवास छ । सरकारले लोपोन्मुख जातिमा राखेर भत्ता दिने व्यवस्था गरेपछि उक्त जाति सन्तान वृद्धिमै लागेका छन् । कुचबधियामा बालविवाहको समस्या उस्तै छ । पाँच/छ वर्षमै टीकाटालो गर्ने र १२/१३ वर्ष भएपछि विवाह गरिदिने गरिन्छ ।
घरमै बच्चा जन्माइने गरेको उल्लेख गर्दै नामसमरियाले भन्नुभयो, “दुई/तीन दिनसम्म जन्मिँदै जन्मिएन भने बल्ल अस्पताल लैजान्छौँ ।” कुचबधियामा महिला स्वयंसेविका कोही छैनन् । बेथा लागेपछि सुत्केरी गराउन जान्ने भनिएका केही महिला छन् । उनीहरुले नै घरमै सुत्केरी गराउन सहयोग गर्छन् । अहिलेसम्म अस्पतालमा गएर कसैले बच्चा नजन्माएको अगुवा नन्दवा कुचबधियाले बताउनुभयो ।
सो समुदायमा अहिलेसम्म एकजना रेखा कुचबधियाले मात्रै अस्पतालमा बच्चा जन्माउनुभएको छ । उहाँले भन्नुभयो, “तीन दिनसम्म बच्चा नजन्मेपछि उनलाई अस्पताल लगि शल्यक्रिया गरेर बच्चा जन्मियो ।” उहाँको अस्पतालमा जन्मिएको छोराको नाम सूर्या राखिएको छ । “अस्पतालमा जन्मिने शौभाग्य पाएको भन्दै छोराको नाम सूर्या राखियो”, रेखाले भन्नुभयो ।
कुचबधियामा बालविवाह गर्ने र धेरै सन्तान होड नै रहेको छ । नियमित गर्भ जाँच, अस्थायी साधनको प्रयोग कम नै हुने गरेको छ । समुदायका दुई/चार जना महिलाले श्रीमान्लाई थाहै नदिएर अस्थायी साधनको प्रयोग गर्ने गरेको भए पनि अधिंकाशले प्रयोग गर्दैनन् ।