सरकार प्रतिपक्षीको कुरा सुन्न तयार, तर कुनै तर्क र बहसमा रूची छैन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीलाई राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आग्रह गरेका छन् । प्रतिनिधिसभालाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रनिर्माणको अभियानमा प्रतिपक्षीलाई रचनात्मक भूमिकाका साथ प्रस्तुत हुन समेत आग्रह गरेका हुन् । अहिले देश चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै ओलीले अहिले पर्खिने स्थिति नभएको र कुनै तर्क, वितर्क, वादविवादमा रूची नभएको बताए ।
देश विकास गर्ने ठोस नीति, ठोस योजना र ठोस कार्यमा रुची छु, प्रधानमन्त्रीले भने, निर्माणका कार्यमा विकासका कार्यमा त कोही प्रतिपक्षी हुन नसक्ने उनले बताए । प्रतिपक्षीको कुरा सुन्न सरकार तयार रहेको भन्दै उनले प्रतिपक्षीको छनोटलाई सरकार साथमा लिएर अगाडि बढ्न तयार रहेको बताए ।
पछिल्लो समयमा अनौठो व्यवहारको महसुस गरेको भन्दै प्रधानमन्त्री ओलीले आफूलाई प्रतिपक्षी दलसँग काममा रूची भएको तर कुनै तर्क र बहसमा रूची नभएको बताए ।
अब मुलुकमा राजतन्त्र नभएको जनताले ल्याएको गणतन्त्र र आफैँले छानेको लोकतान्त्रिक प्रणाली भएको भन्दै प्रधानमन्त्री ओलीले जनताले छानेको बहुमतको सरकार भएको बताए । त्यसकारण तर्क र बहसमा अल्झिरहन आवश्यक नभएको आलीको भनाइ थियो ।
सरकार यस आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको अर्धवार्षिक समीक्षामा जुटेको भन्दै प्रधानमन्त्रीले मुलुकको समृद्धिको सपना देखेर सरकारले कुनै गल्ती नगरेको बताए ।
सत्ता सञ्चालनको जिम्मेवारीको हिसाबले सोही मिसन र भिजनमा अगाडि बढिरहेको बताउँदै उनले कानुनी संरचनाका दुई सीमा र दुई पक्षहरूअन्तर्गत गएको असोजमै मौलिक हकलाई कार्यान्वयन गर्ने कानुनहरू निर्माण गरेर कार्यान्वयनमा ल्याएको बताए ।
अहिले १६५ कानुन अध्यावधी भएको भन्दै उनले ५६ विधेयकहरू र संघीयता कार्यान्वयनसँग सम्बन्धित १०९ वटा कानुनहरू तर्जुमा भइसकेको समेत संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बताए ।
प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका निम्ति कमर्चारी समायोजनसम्बन्धी अध्यादेश लिएको बताउँदै ओलीले ३४ हजार ३५७ कर्मचारीले आफ्नो वैयक्तिक कानुन अद्यावधिक गराएको समेत प्रधानमन्त्री ओलीले जानकारी गराए ।