Logo
४ मंसिर २०८१, मंगलबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धैर्य गरौं, पानीजहाजको टिकट काट्न पाइन्छ, धमिलो पानीमा माछा मार्ने रहर नगर्न कांग्रेसलाई सुझाव

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न सुझाव दिएका छन् । सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याउँदा किन ल्याएको ? कर्मचारीको वृत्तिविकास रोक्न मिल्छ ? जस्ता प्रश्न आएको भन्दै उनले भने, ‘स्वेच्छिक अवकासमा जाँदा अनावश्यक ५०/६० अर्ब व्ययभार बोक्नुपर्थ्यो ।’

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले प्रतिपक्षको पेटेन्ट राइट (प्रतिलिपी अधिकार) नखोसेको बताए । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई लिएर नेपाली कांग्रेसले तीब्र विरोध गरिरहेकोमा ओलीले जवाफ दिएका हुन् । ‘नेपाली कांग्रेसले सुरु गरेको पेन्सन कार्यक्रमलाई ओलीले आफ्नो भनेर प्रचार गर्‍यो भनेर मेरा प्रीय मित्र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजीले यही संसदमा आएर विरोध गर्नुभयो,’ उनले भने, ‘मैले हामीले मात्रै यो काम गरेका हौँ वा यो हाम्रो मात्रै कार्यक्रम हो भनेको छु र, राम्रो काम गर्न पो खोजेको, मैले कांग्रेसको पेटेन्ट राइट खाजेको होइन् ।’

प्रधानमन्त्री ओलीले आफूले राम्रा कामका लागि कोसिस गरिरहेको अवस्थामा त्यसको जस जसले लिँदा पनि हुने बताए । तर राम्रा काममा खिसिट्युरी गर्न आवश्यक नरहेको बताए । नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गरेको भए उमेर भएका राष्ट्रसेवकलाई पेन्सनर बनाएर दक्षता गुमाउनुपर्ने पनि बताए ।

आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधिकारिक ट्रेड युनियनसँग भएको सहमतिअनुसार नै कर्मचारी समायोजन अघि बढेको बताए । यसमा चित्त दुखाउनु नपर्ने उनले बताए । कर्मचारी आन्दोलनतर्फ संकेत गर्दै उनले भने, ‘पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्नु नै उपयुक्त हुन्छ ।’

यसैबीच प्रधानमन्त्री ओलीले ‘नेपाल पानी जहाज कार्यालय’ स्थापनाको तयारी भइरहेको बताएका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै ओलीले रेल र पानी जहाजको आफ्नो सपनालाई अफवाहको तुवालोमा पुर्ने प्रयास भइरहेको बताएका छन् ।उनले भने, ‘कागजको डुंगा फ्याकियो, गुडिया रेल खेलाइयो । अहिले साथीहरुले पानी जहाजको टिकट काटौं भनेको काउन्टर खोइ भनेको सुनियो ।’

प्रधानमन्त्री ओलीले पानी जहाज चल्ने भन्दै पुस १६ का लागि टिकट काट्न निम्तो दिएका थिए । तर, उनले आफ्नो बाचा किन पूरा भएन भन्ने जवाफ दिनुको साटो प्रश्न गर्नेहरुलाई नै व्यंग्य गरेका छन् । हिजो पानी जहाज हुनसक्दैन भन्नेहरुले अहिले टिकट खोज्नु सकारात्मक भएको भन्दै उनले भने, ‘धैर्य गरौं, रेल आउँछ, पानी जहाज पनि चल्छ । टिकट काट्न पाइन्छ । म साथीहरुलाई ढुक्क हुन आग्रह गर्छु ।’

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्