कांग्रेस राप्रपालाई नेकपा उपनेता नेम्वाङ्गको जवाफ : रेशम चौधरीको सपथ ग्रहण स्वाभाविक प्रक्रिया
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका उपनेता सुवास चन्द्र नेम्वाङ्गले रेशम चौधरीको सपथ ग्रहण स्वभाविक भएको प्रतिक्रिया दिएका छन् ।
रेशम चौधरीको सपथ ग्रहणपछि नेकपा संसदीय दलको कार्यालयमा बोल्दै उपनेता नेम्वाङ्गले चौधरीको सपथग्रहण स्वभाविक प्रक्रिया भएको टिप्पणी गरे।
निर्वाचनमा लड्दा प्रक्रियाले नरोकेकोले त्यही निर्वाचनबाट निर्वाचित सांसदलाई सपथ गराउनु स्वभाविक भएको उनको तर्क थियो। चौधरी प्रतिनिधिसभाको निर्वाचनको बेला नै प्रहरीको फरार सूचीमा थिए।
वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका चौधरीलाई निर्वाचित सांसदको हैसियतले जनमत अनुसार सपथ गराईएको उनले स्पष्ट पारे। अदालतबाट अपराधी हो भनेर सजाय गरेको अवस्था नभएकाले कानुन सम्मत चौधरीलाई सपथ गराईएको उनले उल्लेख गरे।
उनले भने, ‘उहाँ जतिबेला उठ्नुभयो,त्यति बेला उहाँलाई हाम्रो प्रक्रियाले रोकेन। प्रक्रियाले नरोकेको ठिक भो कि गलत भो कि ? त्यो पनि छलफलको विषय होला । तर प्रक्रियाले रोकेन। उहाँले निर्वाचन लड्न पाउनु भो।
निर्वाचन लडिसकेपछाडि जनताको जनादेश प्राप्त भो। जनताको जनादेश प्राप्त गरिसकेपछाडि उहाँ मानननिय सदस्य हुनुभयो। त्यसैले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेर सभामुख ज्युबाट उहाँले सपथ ग्रहण गर्नुभएको छ।’