सभाभुख महराद्वारा रेशम चौधरीले लिए थारू भाषामा शपथ
काडमाडौं : टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले आज थारू भाषामा सपथ ग्रहण गरेका छन् । सभाभुख कृष्णबहादुर महराले चौधरीलाई सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण गराएका हुन् ।
महराले सांसद चौधरीले शपथ ग्रहण गर्न बाँकी रहेको भन्दै उनलाई शपथ ग्रहण गराउन अनुरोध गरेका थिए । त्यसलगत्तै उनको शपथ ग्रहण सुरु भएको थियो। यसअघि सांसदको प्रमाणपत्रमा हस्ताक्षर गरेपछि सभामुख महराले सांसदको लोगो हस्तान्त्रण गरेका थिए ।
चौधरीको शपथ ग्रहणमा सभामुख महरा, उपसभामुख डा। शिवमाया तुम्बाहाम्फे, सांसदहरू राजपा राजेन्द्र महतो, महन्त ठाकुर, अनिलकुमार झा, नेकपा सुवासचन्द्र नेम्वाङ, देव गुरूङलगायत संसद सचिवालयका पदाधिकारी उपस्थित रहेका थिए ।
२०७२ भदौ ७ गते थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको हत्या गरेको आरोपमा जेल जीवन बिताइरहेका थिए ।
डिल्ली बजार कारागारबाट ल्याएर उनलाई शपथ ग्रहण गराइएको हो । शपथ ग्रहण लगत्तै उनलाई पुनः डिल्लीबजार कारागारमै पठाइने संसद सचिवालयले जनाएको छ । संघीय संसदको नियमावली २४४ को ३ अनुसार चौधरी संसद बैठकमा भने सहभागी हुन नपाउने व्यवस्था रहेको संसद सचिवालयले जनाएको छ।