वाइडबडी खरिद प्रकरण : चार अर्ब ३१ करोड भ्रष्टाचार भएको ठहर
काठमाडौं : वाइडवडी खरिदमा चार अर्ब ३१ करोड रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ।
सांसद राजन केसीको संयोजकत्वमा गठित संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले चार अर्ब ३१ करोड घोटाला भएको निष्कर्षसहितकाे प्रतिवेदन तयार पारेकाे छ ।
उपसमितिले खरिद प्रक्रियामा संलग्न नेपाल वायुसेवा निगमका कर्मचारीलाई निलम्बन गरेर कारबाही थाल्न निर्देशन दिने प्रारम्भिक प्रतिवेदन तयार पारेको हाे ।
संसद सचिवालय स्रोतका अनुसार निगम सञ्चालक समिति र व्यवस्थापनले नेपाल वायुसेवा निगम आर्थिक नियमावली २०६५ को दफा २३६ उपदफा १ (क) अनुसार विमान गरिद गर्नुपर्नेमा २३६ कै १ (ख) अनुसार खरिद गरेर राष्ट्रलाई घाटा पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।
उपसमितिले एयर बसको विमान गरिद गर्दा ६५ प्रतिशत छुट पाइने भए पनि मिलोमतोमा ५५ प्रतिशत मात्र लिएको ठहर गरेको छ । त्यस्तै खरिद सम्झौतामा पछि मूल्यवृद्धि गर्न सक्ने प्रावधान राखेर निगमलाई थप ८० करोड घाटा पुर्याएको निष्कर्ष उपसमितिको छ ।
उपसमितिले लेखा समितिमा पेस गर्ने तयारी गरेको प्रतिवेदनमा विमान गरिद गर्दा वायु सेवा निगमले गठन गरेको अध्ययन उपसमिति, लागत मूल्य र आरएफपी (रिक्वइष्ट फर प्रपोजल) सिफारिस गर्ने र स्वीकृत गर्ने पदाधिकारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने उल्लेख छ ।