१० लाखसम्म कर्जा पाउने भएपछि विदेशबाट फर्केकाहरु स्वोदेशमै बस्न आतुर
काठमाडौ : सरकारले विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले दशलाखसम्म सरल कर्जा दिनेभएपछि युवाहरुको आकर्षण निकैनै बढेको छ ।
वैदेशिक रोजगार विदेशबाट फर्किएका युवाले स्वदेशमा रोजगार बन्न दस लाख रुपियाँसम्म सरल कर्जा लिनसक्ने गरी प्रवद्र्धन बोर्डले गत मङ्सिर ६ गते आह्वान गरेको आवेदनप्रति युवाको आकर्षण बढेको हो ।
साउदी अरब काम गरेर हालै नेपाल आएका रामेश्वर खत्रीले भने,–कर्जा पाउने भए म नेपालमै केही गर्न अतुर छु ।’ वैदेशिक रोजगार आफ्नो रहर नभई बाध्यता भएको उनले बताए ।
विदेशमा आर्जन गरेको सीप, ज्ञान र दक्षता प्रयोग गरेर स्वदेशमै स्वरोजगार बन्न चाहने युवाका लागि सरकारले दस लाख रुपियाँसम्म सरल कर्जाका लागि सूचीकरणका लागि आह्वान गरेको हो । त्यस अनुसार पुस १५ गतेसम्म चार हजार ४ सय ७० युवाले उक्त कर्जाका लागि आवेदन दिएको बोर्ड सचिवालयले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सरकारले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको ज्ञान, सीप र दक्षतालाई स्वदेश फर्की पेसा व्यवसाय तथा उद्यम गर्न इच्छुक युवालाई आर्थिक वर्ष २०७५/७६ मा दस लाख रुपियाँसम्म सरल कर्जा प्रदान गर्ने गरी आवेदन मागेको जानकारी दिए ।
उनका अनुसार सरल कर्जा प्राप्त गर्न श्रम स्वीकृति लिई वा नलिई कुनै पनि देशमा कम्तीमा छ महिनासम्म सम्बन्धित तालिम पेसा र व्यवसायको क्षेत्रमा काम गरी स्वदेश फर्किएको तीन वर्ष ननाघेको हुनुपर्नेछ ।
सरकारले आव २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित दस लाख रुपियाँसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।